मोटरसाइकल चोरी गर्दै गर्दा एक जना प्रहरीको फन्दामा | पाँच जना पाकेटमार १२ थान मोबाइलसहित पक्राउ
काठमाडौं । प्रहरीले पार्किङ गरी राखेको मोटरसाइकल चोरी गर्न खोज्ने एक युवकलाई रंगेहात पक्राउ गरेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–११, सतुङ्गलस्थित सीजी कम्पनीको गेटअगाडि पार्किङ गरी राखेको मोटरसाइकल चोरी गर्न खोज्ने सिन्धुपाल्चोकको गौथली गाउँपालिका–६ बस्ने २४ वर्षीय कुलबहादुर खत्रीलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले हिजो आइतवार राति ८ः२० बजे सो स्थानमा पार्किङ गरी राखेको बा८१प २४१४ नम्बरको रातो १५० सीसीको एभेञ्जर मोटरसाइकल चोरी गर्न लागेको अवस्थामा निजलाई पक्राउ गरेको हो ।
चार पाकेटमार सामानसहित पक्राउ
त्यसैगरी, प्रहरीले चन्द्रागिरी नगरपालिका–११, सतुङ्गलबाट पाँच जनालाई पाकेटमारी तथा चोरी गरेका विभिन्न सामानसहित पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले पाकेटमारी तथा चोरी गरेका विभिन्न कम्पनीका १२ थान मोबाइलसहित तिनीहरूलाई हिजो आइतवार बेलुकी ४ बजे पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा धादिङ खहरे घर भई काठमाडौं महानरपालिका–११, कपन बस्ने २४ वर्षीय विपिन सुनुवार, धादिङ खहरे घर भई काठमाडौं महानरपालिका–१६, बालाजु बस्ने २५ वर्षीय बलराम परियार, काठमाडौं महानगरपालिका–११, कपन बस्ने १९ वर्षीय छिरिङ लामा, काठमाडौं दक्षिणकाली नगरपालिका–९, फर्पिङ बस्ने २० वर्षीय सैलेश थापा र काठमाडौ चन्द्रागिरी नगरपालिका– ११, नैकाप बस्ने २९ वर्षीय भरत थापा रहेका छन् ।
पक्राउ परेका पाँचै जनाउपर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।