लमही–तुलसीपुर सडक चार लेनको बन्ने |

दाङ । दाङ जिल्लाको लमही–तुलसीपुर सडकखण्ड चार लेनको बनाउने सम्झौता भएको छ । उक्त सडक खण्डको बबई नदीदेखि तुलसीपुरसम्मको सडकलाई चार लेनको बनाउन भारतीय तथ्य इञ्जिनीयरिङ कम्पनीसँग सम्झौता गरिएको छ ।
दुई लेन रहेको उक्त सडकलाई चार लेन बनाउन एक अर्ब ४४ करोड रुपैयाँको लागत अनुमान गरिए पनि एक अर्ब ६ करोडमा निर्माण पूरा गर्न बोलपत्र स्वीकृति भएको परियोजना महाशाखाले जानकारी दिएको छ ।
उक्त सडकखण्ड अबको एक महीनामा चार लेन बनाउने काम शुरु भइ दुई वर्षभित्र निर्माण पूरा गरिसक्नु पर्नेछ । भारतीय इम्पोर्ट एक्सपोर्ट बैंकको लगानीमा सडक चार लेन बन्न लागेको हो । सो सडक बनाउने काम आइसीवी प्रणालीद्वारा हुने भन्दै गुणस्तरीय हुने महाशाखाले जानकारी दिएको छ ।
बस्ती भएको स्थानमा चार लेन र बस्ती नभएका स्थानमा भने ११ मिटर चौडाइ भएको सडक निर्माण गरिने छ । सडक चार लेन बनाउने विषयमा यसअघि पनि सरकारले बजेट भाषणमा घोषणा गरेको भए पनि काम शुरु हुन सकेको थिएन ।