विवादास्पद कर फर्छ्योट आयोग ऐन खारेजी हुँदै | अन्य ५५ वटा ऐन पनि संशोधन गर्ने प्रक्रिया अघि बढ्यो
काठमाडौं । विवादास्पद कर फर्छ्योट आयोग ऐन खारेजी हुने भएको छ । आयोगका काम कारबाही विवादमा परेपछि ऐन खारेजीको प्रस्ताव सरकारले नै गरेको हो ।
उक्त ऐन खारेजीका लागि संघीय संसदमा विधेयक दर्ता भएको छ । सरकारका तर्फबाट कानुन मन्त्रालयले आइतवार दर्ता गरेको केही नेपाल ऐन संशोधन विधेयकमा आयोग गठन विधेयक खारेजीको प्रस्ताव गरिएको छ ।
उक्त ऐन २०३३ सालमा बनेको हो । पछिल्लो समय आयोगका काम कारबाही विवादास्पद भएपछि संसद्को अर्थ समितिले ऐन खारेज गर्न सरकारलाई निर्देशनसमेत दिएको थियो ।
दर्ता भएको उक्त विधेयकले आयोग गठन ऐन खारेजसँगै अन्य ५५ ऐनको संशोधनको प्रक्रिया पनि अघि बढाएको छ । फागुन २१ गतेसम्ममा यो विधेयक पारित भइसक्नुपर्ने संवैधानिक बाध्यता छ । विधेयकमार्फत सवारी तथा यातायात व्यवस्था ऐन, राष्ट्रिय प्रसारण ऐन, नेपाल कानुन व्यवसायी परिषद्लगायतका ५५ वटा ऐन एकैपटक संशोधन हुँदैछन् ।