नेपाल टेलिकमको साधारणसभा पुस ३० गते | सभाले प्रतिकित्ता ५५ रुपैयाँबराबरको नगद लाभांश पारित गर्ने, बुक क्लोज पुस १२ देखि ३० गतेसम्म
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को ११औं वार्षिक साधारणसभा यही पुस ३० गते भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा दिउँसो ३ बजे बस्ने भएको छ । साधारणसभाको प्रयोजनका लागि पुस १२ गतेदेखि पुस ३० गतेसम्म कम्पनीको बुक क्लोज हुने बताइएको छ । जसअनुसार पुस ११ गतेसम्म शेयर स्वामित्व भएका शेयरधनीहरुले मात्र लाभांश र साधारणसभामा सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।
कम्पनीको हिजो आइतवार बसेको सञ्चालक समितिको ८०३औं बैठकले उक्त दिन वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले यसअघि सञ्चालक समितिले प्रस्ताव गरेको प्रतिकित्ता ५५ रुपैयाँबराबरको नगद लाभांशलाई पारित गर्नेछ । त्यस्तै सभाले सञ्चालक समितिको प्रतिवेदन र अघिल्लो आर्थिक वर्षको आर्थिक प्रतिवेदन पारित गर्नुका साथै आगामी आवका लागि लेखापरीक्षकको नियुक्ति पनि गर्ने बताइएको छ ।