मध्य त्रिशूली गंगा र प्राधिकरणबीच पीपीए | आगामी पाँच वर्षमा उत्पादन शुरू गर्ने, लागत रू. ५ अर्ब १२ करोड
नुवाकोट । नुवाकोटमा निर्माणाधीन मध्य त्रिशूली गंगा जलविद्युत् आयोजना र नेपाल विद्युत् प्राधिकरणबीच हालै विद्युत् खरीद विक्रीसम्बन्धी सम्झौता (पीपीए) भएको छ । उक्त सम्झौतापत्रमा प्राधिकरणको तर्फबाट योजना, अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र विद्युत् व्यापार विभागका प्रमुख प्रवल अधिकारी तथा प्रवद्र्धक कम्पनीको तर्फबाट कम्पनीका प्रबन्ध सञ्चालक भरतकुमार खड्का र आवासीय इञ्जिनीयर देवेन्द्र बस्नेतले गत मंगलवार हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल प्राधिकरणले खरिद गर्नेछ । पर्फेक्ट इनर्जी डेभलप्मेण्ट प्रालि प्रवद्र्धक रहेको उक्त आयोजनाको क्षमता १९.४१ मेगावाट रहेको छ ।
दुई पक्षबीच भएको सम्झौताअनुसार आयोजनाबाट सुक्खायाममा (मङ्सिर १६ देखि जेठ १५ सम्म) उत्पादन हुने विद्युत् ८ रुपैयाँ ४० पैसा र वर्षायाममा (जेठ १६ देखि मङ्सिर १५ सम्म) उत्पादन हुने विद्युत् ४ रुपैयाँ ४० पैसामा प्राधिकरणले खरीद गर्ने कम्पनीले जानकारी दिएको छ ।
आयोजनाले २०८० सालको जेठ महिनासम्ममा निर्माण सम्पन्न गरी उत्पादन शुरू गर्ने लक्ष्य लिएको छ । क्यू सेभेन्टी मोडेलमा रहने उक्त आयोजना नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा बाँध बाधेर विदुर नगरपालिका–७ तुप्चे (बेत्रावती) मा विद्युत् उत्पादन गृह स्थापना हुनेछ । उक्त आयोजनाको लागत रू. ५ अर्ब १२ करोड लाग्ने कम्पनीले बताएको छ ।
प्रवद्र्धक कम्पनीको ३० प्रतिशत लगानी रहने उक्त आयोजनाको बाँकी लगानीका लागि वित्तीय व्यवस्थापनको प्रक्रियामा रहेको छ ।