एनआईसी एशियाका दुई नयाँ शाखा कार्यालय सञ्चालनमा |

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना शाखा कार्यालय विस्तार गर्ने क्रममा हालै दुईवटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सुनसरी जिल्लाको प्रकाशपुर र इनरुवामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।
इनरुवा नगरपालिका– १ शान्तिचोकस्थित इनरुवा शाखाको सोही नगरपालिकाका प्रमुख राजन मेहता र बराहक्षेत्र नगरपालिका– १०, प्रकाशपुर शाखाको सोही नगरपालिकाका प्रमुख निलम खनालले उद्घाटन गरेका हुन् ।
उक्त शाखाको उद्घाटनसँगै बैंकको शाखा संख्या अब २ सय ७२ पुगेको छ । बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा हाल सबैभन्दा धेरै शाखा सञ्जाल भएको बैंक बन्न सफल भएको छ । बैंकले हाल २ सय ७० शाखा कार्यालय, २ सय ८७ एटीएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवम् २० वटा शाखारहित बैंकिङ इकाइमार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय एवम् आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
हाल उक्त बैंकको वासलातको आकार रू. २१२ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १६९ अर्ब तथा कर्जा रू. १४५ अर्ब पुगी निजीक्षेत्रबाट सञ्चालित बैंकहरूमध्ये सबैभन्दा ठूलो बैंकको रूपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हाल यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख पुगिसकेको छ ।