नेपाली बैंक तथा वित्तीय संस्थाहरूले नयाँ प्रविधि भित्र्याउनु आवश्यक छ : गभर्नर |

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले नेपाली बैंक तथा वित्तीय संस्थाहरू र त्यसका नियामक निकायले पनि नयाँ प्रविधि भित्र्याउनुपर्ने आवश्यकता औंल्याएका छन् । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बीएफआईएन) ले काठमाडौंमा आयोजना गरेको एकदिने ‘डिजिटल विश्वका लागि मानव संसाधनको रुपान्तरण’ विषयक कार्यशालाको उद्घाटन गर्दै त्यस्तो धारणा राखेका हुन् ।
उनले बैंक तथा वित्तीय संस्थाहरूले फिनटेक टेक्नोलोजी र नियामक निकायहरूले रेगटेक र सभटेक टेक्नोलोजीको प्रयोग गर्नुपर्ने बताए । टेक्नोलोजीको प्रयोगसँग मानव संसाधनको भूमिका रुपान्तरण गर्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘हामी ब्रिक टेक्नोलोजीबाट क्लिक टेक्नोलोजीमा रुपान्तरण हुँदै छौं, बदलिँदो युगलाई सम्बोधन गर्न वित्तीय संस्था र रेगुलेटरीहरूले प्रयोग गर्ने प्रविधि पनि समयानुसार परिवर्तन गर्दै जानुपर्छ ।’
उनका अनुसार विग डाटा एनालाइसिस्ट, कृत्रिम बौद्धिकता, क्लाउड कम्पिटिङ र रोबोटिक अटोमेशनलाई प्रयोग गर्दै जानुपर्छ र यसैअनुसार मानव पूँजीको रुपान्तरण गरिनु आवश्यक छ ।
कार्यक्रममा आयोजक बीएफआईएनका प्रमुख कार्यकारी अधिकृत विनोद आत्रेयले भने, ‘सन् २०३० सम्ममा विश्वका ६० प्रतिशत जनसंख्या प्रविधि परिवर्तनका कारण एउटा कामबाट अर्को काममा रुपान्तरण हुनुपर्ने आवश्यकता रहेको अध्ययनले बताएको छ । यसै परिप्रेक्षमा नेपाली बैंकिङ क्षेत्रले पनि समयसुहाउँदो प्रविधि भित्र्याउनुपर्ने परिप्रेक्ष्यमा कार्यक्रम आयोजना गरिएको हो ।’
कार्यक्रममा नेपाल र भारतका वित्तीय संस्थाहरूमा मानव संसाधन व्यवस्थापन र प्रविधि क्षेत्रका अनुभवी व्यक्तिहरुले बोलेका थिए ।