पुस १२ गते धरहराको शिलान्यास गरिने |
काठमाडौं । भूकम्पले क्षतिग्रस्त बनाएको धरहराको पुर्निर्माण अब हुने भएको छ । धराहराको पुनर्निमाण शिलान्यास पुस १२ गते हुने भएको छ । आउँदो बिहीबार धरहरा परिसरमै एक कार्यक्रम गरी प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गर्ने भएका हुन् ।
पुनर्निर्माण प्राधिकरणले जीआईईटिसी–रमन जेभीलाई धरहरा पुनर्निर्माणको जिम्मा दिएको थियो । सो कम्पनीले ३ अर्ब ४५ करोड रुपैयाँमा धरहरा पुनर्निर्माण गर्ने प्रस्ताव गरेको छ ।
शिलान्यासपछि धरहरा पुनर्निर्माणको कामले गति लिनेछ । धरहरा परिसरलाई कम्पाउण्डिङ गर्ने, भत्किएको धरहरालाई संरक्षण गर्नेलगायतका काम भइसकेका छन् । मंसिरमै जग खन्न शुरु गर्ने तयारी रहे पनि टेलिकमको अण्डरग्राउण्ड फाइबर, खानेपानीका पाइप विद्युतका तार परिसर क्षेत्रमा परेकाले ढिलाइ भएको बताइएको छ ।
धरहरा निर्माणका लागि आवश्यक सामग्री र त्यहाँबाट निस्कने फोहोरलाई टुँडिखेलको दक्षिण भागमा व्यवस्थापन गर्न ठाउँ छुट्याइएको छ ।
कस्तो बन्दैछ धरहरा
२९ रोपनी क्षेत्रफलमा फैलिने धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु हुनेछन् । धरहरा ११ तलाको बन्नेछ । बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २२ तलाको हुनेछ ।
विसं १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले २ तला भत्किएपछि ९ तलामा सीमित भएको थियो । धरहरामा भर्याङ चढेर होइन, लिफ्टबाट ‘टप’मा पुग्ने व्यवस्था हुनेछ । धरहरामा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट हुनेछ ।
अहिले धरहराले ओगटेको ६ रोपनी जग्गासहित गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गर्ने काम भइरहेको छ ।