लाकुरीभञ्ज्याङ प्रहरी प्रभागमा गोली चल्दा १ प्रहरी घाइते | असई तामाङ प्रहरी नियन्त्रणमा, घटनाबारे छानबिन गर्न डीएसपी मिश्रको कमाण्डमा समिति गठन
काठमाडौं । ललितपुरको लाकुरीभञ्ज्याङ प्रहरी प्रभागमा आज गोली चल्दा एक प्रहरी जवान घाइते भएका छन् । घाइते हुनेमा काठमाडौं विपद् व्यवस्थापनमा कार्यरत प्रहरी जवान रोशन श्रेष्ठ रहेका छन् ।
घाइते प्रहरी जवान श्रेष्ठ लाकुरीभञ्ज्याङ प्रहरी प्रभागका इञ्चार्ज असई रमेश तामाङलाई भेट्न आएका थिए । उनीहरू दुवै गृह जिल्ला दोलखाका साथी हुन् । घाइते प्रहरी जवान श्रेष्ठको मेट्रो प्रहरी अस्पतालमा उपचार भइरहेको र उनी खतरामुक्त रहेको ललितपुर प्रहरी परिसरका एसपी शेखर खनालले जानकारी दिए ।
उनीहरू दुवै कार्यालयभित्रको बेडरूममा बसिरहेको बेला तामाङको पेस्तोल पड्किएर श्रेष्ठको गालामा लागेको बताइएको छ । असइ तामाङको पेस्तोल म्यागजिन अनलोड गर्ने क्रममा पड्किएको बताइएको छ । हाल असइ तामाङलाई नियन्त्रणमा लिएर सातदोबाटो प्रहरीले अनुसन्धान शुरू गरेको छ ।
उक्त घटनाको अनुसन्धानका लागि सातदोबाटोस्थित प्रहरी कार्यालयका डीएसपी गौतम मिश्रको कमाण्डमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।