नेपाल जग्गा तथा आवास विकास संघको अध्यक्षमा मीनमान श्रेष्ठ निर्वाचित |
काठमाण्डौ । नेपाल जग्गा तथा आवास विकास संघको अध्यक्षमा मीनमान श्रेष्ठ निर्वाचित भएका छन् । शुक्रबार ललितपुरमा भएको संघको १२ औं साधारण सभामा आगामी दुई वर्षका लागि डाउन टाउन हाउजिङ्गका प्रबन्ध निर्देशक श्रेष्ठ अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् ।
साधारण सभामा अध्यक्षसहित ६ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् भने ७ सदस्यको पदमा ९ जनाको उम्मेदवारी परेपछि मतदान भएको हो ।
नवनिर्वाचित कार्य समितिको प्रथम उपाध्यक्षमा प्रोपर्टीडिलर्स प्रालिका ईच्छाबहादुर वाग्ले, द्वितीय उपाध्यक्षमा एसबी कम्पनीका बिदुर धमला, तृतीय उपाध्यक्षमा सीडी डेभलपर्सका दिपक कुवँर, महासचिवमा वागमती प्रोपर्टी डिलर्सका भेषराज लोहनी र कोषाध्यक्षमा कन्टिनेन्टल डेभलपर्सका पुरुषोत्तम पौड्याल निर्विरोध निर्वाचित भएका छन् ।
सदस्यहरुमा तुलसीप्रसाद अधिकारी, बहादुरकृष्ण ताम्राकार, टंकबहादुर श्रेष्ठ, दिपक मलहोत्रा, आशिष गर्ग, गोविन्दप्रसाद लोहनी र सुमितकुमार अग्रवाल निर्वा्चित भएका छन् ।
साधारण सभामा संघको कार्य समितिका पूर्वपदाधिकारी तथा सदस्यहरु, संघका संस्थापक, आजीवन तथा साधारण सदस्यहरु लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको समापन गर्दै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले संघलाई एउटा सबल, सुदृढ र प्रतिष्ठित संस्थाको रुपमा स्थापित गर्न आफ्नो कार्यकालभर पूर्णरुपले दत्तचित्त भई सबै व्यवसायीहरुको हकहितको लागि निरन्तररुपमा प्रयाशरत रहने प्रतिबद्धता प्रकट गरेका थिए ।