नागरिक लगानी कोषको वार्षिक साधारण सभाले पारित गर्यो लाभांश |
काठमाडौं । नागरिक लगानीकोषको शुक्रबार बसेको साधारण सभाले प्रस्तावित २२ दशमलव ०६ प्रतिशत बोनस शेयर र १ दशमलव १६ प्रतिशत नगद लाभांश पारित गरेको छ । कोषले २३ औं वार्षिक आयोजना गरी यो लाभांश भने आर्थिक वर्ष २०७३⁄७४ को रहेको थियो ।
गत आर्थिक वर्षको साधारण सभा गर्नुपर्ने समयमा कोषले अघिल्लो वर्षको लाभांश पारित गरेको भन्दै लगानीकर्ताहरुले आलोचना गरेका थिए । त्यो समयमा कोषको शेयर मूल्य बढी रहेको र हाल कम भएकाले लगानीकर्ताहरुले घाटा व्यहोरेको सदस्यहरुको भनाई छ । सभामा लगानीकर्ताहरुले गत वर्षको साधारण सभा आगामी तीन महिनाभित्र सम्पन्न गर्न अनुरोध गरेका थिए । कोषका कार्यकारी निर्देशक रमण नेपालले आगामी चैत मसान्तभित्र बाँकी रहेको गत वर्षको साधारण सभा सम्पन्न गर्ने प्रतिवद्धता गरेका छन् ।
प्रदर्शनी मार्ग, भृकुटीमण्डपमा भएको सभामा नागरिक लगानीकोषले पूँजीबजार सुधारका लागि मार्केट मेकरको भुमिका निर्वाह गर्ने जानकारी गराईएको छ । यसका लागि सहायक कम्पनी स्थापना गरी कार्य गर्ने तय भए अनुसार आवश्यक प्रकृया अघि बढाईएको कार्यकारी निर्देशक नेपालले जानकारी गराएका छन् ।
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कोषले रू. १ खर्ब १० अर्ब ८९ करोड ७ लाख लगानी गरेको छ । हाल रू. ९० करोड ३१ लाख २३ हजार चुक्तापूँजी रहेको कोषले आगामी दुई वर्षभित्र ग्राहकमैत्री सुविधा सम्पन्न नयाँ भवन निर्माण गर्ने लक्ष्य राखेको छ ।