दोस्रो नेपाल आइडलका विजेता बने रवि ओड | को हुन् रवि ?
काठमाडौं । नेपाल आइडल सिजन−२ को विजेता रवि ओड बनेका छन् । रविले २२ लाख र गोल्डेन माइक पाएका छन् । आइडलको फ्रस्ट रनरअप बिक्रम बराल बने । बरालले २० लाखको चेक पाएका छन् । सेकेण्ड रनरअप सुमित पाठक भए । सुमितले १२ लाख बराबरको चेक र ट्रफी पाए ।
थड रनरअप अर्थात् चौथो अस्मिता अधिकारी भइन् । उनले होन्डाको स्कुटर पाएकी छन् । सिजन २ की एकमात्र नारी अस्मिता फाइनलमा पुगेकी थिइन् ।
को हुन रवि ओड ?
नेपालको पश्चिमी सीमामा अवस्थति कन्चनपुरको कृष्णपुर नगरपालिकास्थित टाउको निहुराएर छिर्न पनि मुस्किल पर्ने एउटा सानो टायलको झुपडीमा जन्मिएका थिए । उनै रवि, शुक्रबार पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा भएको नेपाल आइडल सिजन २ को ग्रान्ड फिनालेका विजेता घोषित भए । वि.सं. २०५४ साल चैतमा टायलको त्यही सानो झुपडीमा जन्मिएका रवि बुवा राजेन्द्र र आमा उमा ओडका तेस्रो सन्तान हुन् ।
उनका बुवा राजेन्द्र अहिले पनि भारतमा पालेको काम गर्छन, परिवार पाल्नका लागि । रविका हजुरबुवा पहाडी जिल्ला छामबाट बसाइँ सरेर कञ्चनपुर झरेका थिए । रविका हजुरबुवा र बुवा जीविका चलाउने गतिलो स्रोत खोज्दै अछामको साँफेबगर नगरपालिका (साविक बुढाकोट गाविस) बाट कञ्चनपुर झरेका थिए । गरिबीकै कारण उनका बुवा र हजुरबुवाले भारतमै ‘पाले’ को काम गरेर दुइ चार पैसा कमाउँदैछन् । कमजोर आर्थिक हैसियत भएका रविलाइ उनको सपनाको उडान भर्न पैसाले रोकेन । हजुरबुवाको प्रेरणाले संगीतमा लागेका रवि यसअघि नै सेलिब्रेटी भइसकेका थिए । नेपाल आइडल सिजन २ को विजेता बनेसँगै अब आर्थिक रूपमा पनि उनको जिन्दगी फेरिएको छ ।
नेपाल आइडलको धनगढीमा भएको अडिसनमा पुग्नुअघि उनी गाउँमै हुने सांगीतिक प्रतियोगितामा भाग लिन्थे भने धनगढी पुगेर दोहोरी साँझमा गाएर पैसाको जोहो गर्थे । सुदूरपश्चिमबाट अन्तिम चारमा पुगेका एक्ला प्रतिस्पर्धी उनलाइ जिताउन कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अभियान नै चलाइएको थियो । फाइनलमा जित्नका लागि भोट मात्रै निर्णायक थिएन, जजको पनि मन जित्दै उनले नेपाल आइडल सिजन २ मा आफूलाइ सर्वोत्कृष्ट गायक सावित गरे । उनले आफ्नो क्षेत्रक देउडा गीतलाइ नेपाल आइडलको मञ्चमार्फत् संसारभर फैल्याए । उनी देउडा जति सुमधुर गाउँथै उति नै पोख्त थिए पप र आधुनिक विधाका गीतमा पनि । संघर्षपूर्ण बाल्यकालबाट गुज्रिएका उनी जब गाउँथे सबैलाइ बाँधेर राख्न सक्थे।सं गीतको औपचारिक शिक्षा नलिएर पनि रविले ‘ढुंगाको काप फोडेर पनि उम्रन्छ पिपल’ भन्ने नेपाली भनाइलाइ साँच्चिकै चरितार्थ गरिदिएका छन् ।
रविको जीवन कम्ता संघर्षपूर्ण थिए । उनी २०७० सालको संविधानसभा निर्वाचनमा म्यादी प्रहरी भएका थिए भन्दा जोकोहीले पत्याउँदैन । परिवार पाल्न र आफ्नो दैनिक खर्चका लागि उनी २०७० सालको संविधान सभा निर्वाचनमा म्यादी प्रहरी पनि बनेका थिए । उनले म्यादी प्रहरी बनेर राष्ट्रको सेवा त गरे नै त्यससँगै केही आम्दानी पनि गरे जसले उनको जीवन चलाउन केही समय सहज भयो । हजुरबाको प्रेरणाले बाल्यकालदेखि नै गुनगुनाउने रविको गीत सुन्न उनलाइ जन्म दिने आमा अहिले यो दुनियाँमा छैनन् । तर उनलाइ जुन आमाले हुर्काइन् जन्म दिने आमाको कहिल्यै कमी हुन दिइनन् । भारतमा पाले बनेका बाबुले रविलाइ जिताउन भोट माग्दै हिँडेका थिए । परदेशमा रहेका बुवाले यो खबर सुनेपछि पक्कै हर्षका आँसु बगाए ।