दाङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या २२ पुग्यो, ५ जनाको सनाखत |
दाङ । शुक्रबार बेलुका भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । १५ जना घाइते भएका छन् । घाइतेहरुको टाउको र खट्टामा गम्भीर चोट लागेको उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डीएसपी प्रेमबहादुर शाहीले जानकारी दिएका छन् ।
घाइतेहरु मध्ये धेरैको अवस्था गम्भीर रहेको छ । घाइतेलाई दाङमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राति नै शिक्षण अस्पताल कोहलपुर बाँके रिफर गरिएको छ । उनीहरुको कोहलपुरमा उपचार भइरहेको छ ।
दुर्घटनामा ज्यान गुमाउने मध्ये ५ जनाको पहिचान खुलेको छ । बस चालक घोराही उपमहानगरपालिका वडा नं ३ का मदन केसी, शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षकहरु घोराही उपमहानगरपालिका वडा नं १७ का २८ वर्षीय प्रदीप घिमिरे र पूर्वी रुकुम भूमे गाउँपालिकाका २८ वर्षीय नरेश वली, दंगीशरण गाउँपालिका वडा नं १ का ३० वर्षीय सञ्जित रत्गैया, घोराही उपमहानगरपालिका वडा नं १४ का २७ वर्षीय विजय जी एम रहेका छन् ।
ज्यान गुमाउने र घाइते भएका सबै घोराही १७ मा रहेको कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी हुुन् । बसमा शिक्षालयका ३२ जना विद्यार्थी, २ जना शिक्षक र ३ जना बसका स्टाफ गरी ३७ जना यात्रु रहेको प्रहरीले जनाएको छ । विद्यार्थीहरु सल्यानको मूलपानी बनस्पति उद्यान अवलोकन गरेर फर्कने क्रममा बस दुर्घटना भएको हो ।
कसरी भयो दुर्घटना ?
राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर बजारबाट करिब १० किलोमिटर उत्तरतर्फ पर्छ राम्री गाउँ । यो सडक सल्यानको कपुरकोटबाट दाङको तुलसीपुर आउँदा ओरालो पर्छ र थुप्रै साघुँरा घुम्ती पनि छन् । शुक्रबार बस सडकबाट झण्डै सात सय मिटर तल खसेको र बस टुक्राटुक्रा भएको छ । दुर्घटनाको कारण खुलिनसेको भए पनि प्रहरीले घुम्ती भएकाले अगाडिको दृश्य प्रष्ट नदेखिने हुँदा दुर्घटना भएको हुनसक्ने बताएको छ ।
डीएसपी शाहीका अनुसार घटनाको प्रकृति हेर्दा तीव्र गतिमा चलेको बस अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्छ । गाडी सडकबाट खसेको ठाउँ नजिकै खाल्डो रहेको र गाडी तीव्र गतिमा आएकाले कन्ट्रोल नभएपछि दुर्घटना भएको हुनसक्छ ।