दूरसञ्चरको फ्रिक्वेन्सी बढाबढमा बेचिदै | टेलिकमसहित एनसेल र स्मार्टले मात्रै प्रतिस्पर्धा गर्ने
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दुरसञ्चारको फ्रिक्वेन्सीलाई बढाबढमा बेच्ने गरी (अक्सन नोटिस) सार्वजनिक गरेको छ ।
हाल सक्रिय सेवा प्रदान गरिरहेका कम्पनी नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले प्राधिरणले माग गरेको फ्रिक्वेन्सी बोलकबोलमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
प्राधिकरणले टेलिकम सेवाप्रदाक कम्पनीको मोवाइल सेवा तथा डाटा सेवाको लागि प्रयोग हुने यस्तो फ्रिक्वेन्सीलाई बोलकबोलमा जसले बढी पैसा दिन्छ उसैलाई बेच्ने निर्णय गरेर सार्वजनिक सूचना जारी गरेको हो ।
प्राधिकरणका अनुसार यस्तो निर्णय अनुसार ९०० मेगाहर्ज, १८०० मेगाहर्ज, २१०० मेगाहर्जको फ्रिक्वेन्सीलाई बोलकबोलमा बेचिने भएको छ । यसका लागि प्राधिकरणले तीनवटै फ्रिक्वेन्सीको न्युनतम आधार मूल्य भने तय गरेको छ । प्राधिकरणले तय गरेको आधार मूल्यभन्दा माथि फ्रिक्वेन्सी बोलकबोल हुने भएको छ ।
प्राधिकरणसँग टेलिकम सेवा प्रदायक कम्पनीको निम्ति अझै २३०० मेगाहर्ज, ७०० मेगाहर्ज र २६०० मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सीपनि बाँकी रहेको छ । यो भने दोस्रो चरणमा बोलकबोलबाट बेचिने बताइएको छ ।
प्राधिकरणका अनुसार ९०० ब्यान्डमा अहिले ३ मेगाहर्ज फ्रिक्वेन्सी बाँकी छ । यसको लागि प्राधिकरणले आधार मूल्य चार करोड ८० लाख तोकेको छ । ९०० मेगाहर्ज ब्यान्ड मोबाइल सेवा सञ्चालनका लागि उपयुक्त मानिन्छ । टुजी र थ्रीजी दुवैका लागि उपयुक्त ब्यान्ड मानिएकाले पनि ९०० मेगाहर्ज ब्यान्डको माग रहेको छ ।
१८०० मेगाहर्ज ब्यान्डका लागि प्राधिकरणले आधार मूल्य तीन करोड ६० लाख तोकेको छ । प्राधिकरणसँग यो फ्रिक्वेन्सीको १६ मेगाहर्ज बाँकी छ । १८०० मेगाहर्ज ब्यान्ड फोरजी सेवा विस्तारका लागि उत्कृष्ट मानिन्छ । २१०० मेगाहर्जमा प्राधिकरणसँग ४० मेगाहर्ज फ्रिक्वेन्सी बाँकी छ । यसको आधार मूल्य २ः५ मेगाहर्जको १२ करोड तोकिएको छ । २१०० मेगाहर्ज ब्यान्डलाई माथिल्लो प्रविधि चल्ने ब्यान्ड मानिन्छ ।