मेलम्चीको ठेकेदार सीएमसीको धरौटी रोक्का नगर्न अन्तरिम आदेश |
काठमाडौं । मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का पाएको इटालियन कम्पनी सीएमसीको धरौटी रकम रोक्का नगर्न अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ । उच्च अदालत पाटनले उक्त ठेकेदार कम्पनीको धरौटी रोक्का नगर्न हिजो बिहीवार त्यस्तो आदेश जारी गरेको हो ।
उच्च अदालत पाटनका न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले उक्त ठेकेदार कम्पनीको धरौटी रोक्का नगर्न अन्तरिम आदेश दिई दुवै पक्षलाई छलफलमा बोलाएको छ । साथै, अदालतले धरौटी रकम रोक्का गर्नुको कारणसमेत सरकारसँग माग गरेको छ ।
उक्त कम्पनीले आयोजनाले समयमा भुक्तानी नदिएको भन्दै एकतर्फी रूपमा आफूले आयोजना छोडेको घोषणा गरेपछि खानेपानी मन्त्रालयले उक्त कम्पनीको नेपाल इन्भेस्टमेण्ट बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकमा रहेको धरौटी रकम रोक्का गरेको थियो ।
खानेपानीमन्त्री बिना मगरले हिजो बिहीवार संसद्को अर्थ समितिको बैठकमा ठेकेदार कम्पनीले काम छाडे पनि धरौटी रकम रोक्का गरेकाले आर्थिक रूपमा घाटा नलाग्ने प्रतिक्रिया दिएकी थिइन् ।