काठमाडौ महानगरपालिकाले गर्यो स्मार्ट जेब्रा क्रसिङ बनाउने तयारी |

काठमाडौं । काठमाडौँ महानगरपालिका (कामपा) ले स्मार्ट जेब्रा क्रसिङ निर्माण गर्ने तयारी शुरु गरेको छ । नयाँ निर्माण गरिने जेब्रा क्रसिङ आधुनिक किसिमको हुने र दुवैतर्फबाट आउने गाडी दश मिटर अगाडिनै आफैँ रोकिने प्रविधि सहितको हुने कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए । सडक विभागसँग सहकार्य गरी मासिनको आवागमन बढी हुने स्थानमा काम अघि बढाइने उनको भनाई छ ।
कामपाले चालू आव २०७५⁄७६ को लागि १३ अर्ब दुई करोड १२ लाख ३७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । जसअन्तर्गत भौतिक पूर्वाधार निर्माण गर्न चालू आवमा चार अर्ब छ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । सबैभन्दा बढी महानगरभित्रका सडक विस्तार र मर्मतमा खर्च गरिने छ ।
कामपाभित्र करीब एक हजार ४ सय ५० किलोमिटर पक्की सडक छ । कामपालाई आठ मिटरभन्दा कम चौडाइका सडक मात्र मर्मतसम्भार गर्ने अधिकार छ ।
त्यसभन्दा माथिका सडकमा काम गर्न सडक विभागसँग सहकार्य गरेर काम गर्नुपर्दछ । कामपाभित्र आठ मिटरभन्दा कम चौडाइका सडक ९५० किलोमिटर छ । कामपाभित्र ६२ मिटर चौडाइका सडकसमेत छन् ।
नयाँ निर्माणको कामसँगै यसअघि निर्माण भएका जेब्रा क्रसिङलाई रातको समयमा पनि स्पष्ट रुपमा देखिने गरी मर्मत गरिने कामपाले जानकारी दिएको छ ।