लापरबाहीले गर्दा सुत्केरीको ज्यान गयो भन्दै प्रदर्शन | ओम गुरुकूल हेल्थ केयरका सञ्चालकलगायत सबै कर्मचारी सम्पर्कविहीन
लहान । सिरहाको लहानस्थित ओम गुरुकूल हेल्थ केयर प्रालिअगाडि स्थानीय बासिन्दाहरूले आज शुक्रवार बिहानैदेखि प्रदर्शन गरिरहेका छन् । चिकित्सको लापरबाहीले गर्दा एक सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्त तथा स्थानीयवासीहरूले उक्त हेल्थ केयरको अगाडि प्रदर्शन गरिरहेका हुन् ।
उक्त हेल्थ केयर प्रालिमा मिर्चैया नगरपालिका–११ निवासी २१ वर्षीया सञ्जु पासवानलाई प्रसूति सेवाका लागि भर्ना गरिएकोमा शल्यक्रिया गरी बच्चा निकाल्ने क्रममा उनको मृत्यु भएको थियो ।
सो हेल्थकेयर प्रालिमा कार्यरत चिकित्सकको लापरबाही र त्रुटिपूर्ण शल्यक्रियाका कारण उनको मृत्यु भएको भन्दै मृतकका परिवारजन तथा स्थानीयवासीले लापरबाही गर्ने चिकित्सकमाथि कारबाहीको मागसहित प्रदर्शन गरेका छन् ।
सञ्जुलाई प्रसूति बेथाले च्यापेपछि बुधवार साँझ लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा भर्ना गरिएको थियो । तर त्यहाँका चिकित्सकले उनलाई विराटनगर वा धरान लैजान सल्लाह दिएकाले परिवारजनले बाहिर लैजान तयारी गरेको बखत एक एम्बुलेन्स चालकले ओम गुरुकुल हेल्थ केयर प्रालिमा लैजान सल्लाह दिएका थिए । एम्बुलेन्स चालककै सल्लाह अनुसार उनकै एम्बुलेन्समा सञ्जुलाई उक्त हेल्थ केयर प्रालिमा ल्याइएको मृतकका आफन्तले बताए ।
ओम गुरुकुलमा भर्ना भएको केही समयपछि त्यहाँका चिकित्सकले शल्यक्रिया गरेर बच्चा निकालेका थिए । तर, बच्चा जन्मेको केही बेरपछि सञ्जुको स्वास्थ्य बिग्रिन थालेपछि चिकित्सकले रगत चढाउन शुरू गरे । रगत चढाउँदा पनि विस्तारै÷विस्तारै सञ्जुको अवस्था झनै नाजुक बन्दै जान थालेपछि चिकित्सकको सल्लाहमा उनलाई अक्सिजन लगाएर थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पु¥याउन लाग्दा बाटोमै उनको मृत्यु भइसकेको आफन्तले बताए ।
सञ्जुको मृत्यु भएपछि उनका आफन्तले उक्त हेल्थ केयरअगाडि कारबाहीको माग गर्दै प्रदर्शन गर्न थालेकाले उक्त हेल्थ केयरको सुरक्षाका लागि अहिले प्रहरी परिचालन गरिएको छ । सो हेल्थ केयरका सञ्चालकलगायत सबै चिकित्सक र कर्मचारी अहिले सम्पर्कविहीन रहेको लहान इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए ।