बैंकहरुले ऋण माग्दा नदिए उजुर गर्नुस्ː अर्थमन्त्री खतिवडा |
पोखरा । वित्तीय संस्थाबाट ऋण नपाए उजुरी गर्न अर्थमन्त्री डा. युवराज खतिवडाले आग्रह गरेका छन् । पूँजीगत रुपमा युवालाई उत्पादनमा जोड्नका लागि सस्तो ब्याज अनुदानमा ऋण दिन आफुले भनेको उनले बताए । बिहीबार पोखरामा लेखनाथ महोत्सवको उद्घाटन गर्दै उनले युवालाई उत्पादनमा जोड्न सस्तो दरमा ऋण दिने भन्दै बैंकले नदिए उजुर गर्न आग्रह गरेका हुन् ।
सरकारले ल्याएको स्किमसँग जोडिन युवालाई अर्थमन्त्री खतिवडाले आग्रह गरे । ‘नजिकको बैंक तथा वित्तिय संस्थामा गएर ऋण लिनुहोस् । महिला उद्यमीका लागि पनि सरकारले व्यवस्था गरेको छ,’ अर्थमन्त्री खतिवडाले भने, ‘अध्ययन प्रमाणपत्र धितो राखेर लिन चाहनुहुन्छ भने पनि सरकारले त्यसको व्यवस्था गरिसकेको छ ।’ उच्च प्राविधिक शिक्षा पढ्न चाहनेलाई बैंकिङ सुविधा सरकारले दिने उनको भनाइ छ ।
पोखरा आउने सडकको स्तरोन्नति गर्ने प्रक्रिया सरकारले अगाडि बढाएको उनले बताए । कमसेकम ४ लेनको डेडिकेटेड र २ लेनको सर्भिससहितको ६ लेनको सडक स्तरोन्नति गर्न दातृ निकायसँग सम्झौता गर्ने प्रक्रिया अगाडि बढिसकेको पनि जानकारी गराए ।
अर्थमन्त्री खतिवडाले पर्यटनका माध्यमबाट धेरैभन्दा धेरै युवालाई रोजगारी मिल्ने बताए । २०२० सम्म २० लाख पर्यटक ल्याउने सरकारी लक्ष्य सुनाउँदै अर्थमन्त्री खतिवडाले, २०१८ भित्रै १२ लाख पर्यटक भित्रिसक्ने बताए ।