राष्ट्र बैंकको चेतावनीपछि ब्याजदरमा फेरि सहमति | भोलिदेखि नै ब्याजदर घटाउने

काठमाडौं । ब्याजदरमा अस्वस्थ प्रतिष्पर्धा बढ्दै गएपछि वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर नेपाल राष्ट्र बैंकले ब्याजदर घटाउन चेतावनी दिए लगत्तै बैंकर्स संघको बैठकले ब्याज दरमा फेरि भद्र सहमति गरेको छ ।
यस अघि राष्ट्र बैकका गभर्नर डा. चिरञ्जिबी नेपाल, डेपुटी गभर्नरहरु चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठले भद्र सहमति गरेर ब्याज दर झार्न निर्देशन दिएका थिए । यसबीचमा कर्जा−पूँजी−निक्षेप अनुपात (सिसिडी रेसियो) ८० प्रतिशत नघटाएका बैंकहरुलाई राष्ट्र बैंकले एक पटकलाई जरिवाना नतिराउने भएको छ । यससँगै ब्याज घटाउने सहमति बनेको हो ।
भोलीदेखि नै लागू हुने गरी ब्याज दर घट्ने छ । अब बचतमा बढिमा साढे ६ प्रतिशत मात्र ब्याज दिन पाइने छ । न्यूनतम ब्याज अन्तर २ प्रतिशत बिन्दु राख्नु पर्ने भएको छ । यसो हुँदा कल डिपोजिटको ब्याज साढे ४ प्रतिशतमा झरेको छ ।
ब्यक्तिगत निक्षेपकर्ताको मुद्दति खातामा ९.२५ प्रतिशतसम्म ब्याज दिन पाइने छ । यसमा आधा प्रतिशत बिन्दु बढाउन मिल्ने नियामकीय प्रावधान छ । संस्थागत मुद्दति निक्षेपर्कताले साढे ८ प्रतिशतसम्म ब्याज पाउने छन् । उनीहरुको १ प्रतिशत बिन्दुसम्म ब्याज बढाउन पाइन्छ । ब्याज दरको भुक्तानी त्रैमासिक रुपमा गर्नु पर्ने छ ।
यसअघि भद्र सहमति हुँदा बचतको उच्च ब्याज दर सात प्रतिशत तोकिएको थियो । ब्यक्तिगत मुद्दति साढे १० र संस्थागत १० प्रतिशत तोकिएको थियो । त्यो सहमति खारेजपछि बैंकहरुले ब्याज बढाबढको प्रतिस्पर्धामा लागेका थिए । तीन साताअघि भद्र सहमति खारेज भएपछि १३ वटा बैंकले ब्याज बढाएका थिए । कुमारी, नविल, सेञ्चुरी, हिमालयन लगायतका बैंकले मुद्धति निक्षेपको ब्याज यतिबेला १३ प्रतिशत पुर्याइसकेका छन् ।