तातोपानी नाका वैशाख १८ देखि संचालनमा आउने |
सिन्धुपाल्चोक । ०७२ सालको महाभुकम्पपछि बन्द रहेको तातोपानी नाका खुल्ने भएको छ । भुकम्प अघिसम्म नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका रहेको तातोपानी भन्सार आगामी वैशाख १८ देखि संचालनमा आउने बताइएको छ ।
तातोपानी नाका काठमाडौँबाट १११ किलोमिटर उत्तरपश्चिममा अवस्थित रहेको छ । यो भन्सार नाका बन्द भए पछि त्यस क्षेत्रका बासिन्दाहरु मारमा परेका छन् । चीनले आफ्नोतर्फको सडकलगायत भन्सार पूर्वाधारको निर्माणमा तीव्र गतिले काम गरिरहेको सडक विभागको भनाई छ । चीनले विशेष महत्व दिदैं नाका संचालनका लागि काम गर्न थालेपछि नेपालतर्फको सडक मर्मतका लागि सडक विभागले पनि अग्रसरता देखाएको छ ।
आगामी वैशाखबाट नाका संचालन हुन लागेको चिनियाँ उच्च स्रोतले बताएको छ । तातोपानी नाका संचालनका लागि यतिबेला सीमा क्षेत्रमा तीव्र गतिमा काम भइरहेको छ । नाका संचालनका लागि वैशाखको पहिलो सातासम्म पूर्वाधारको काम सकिने बताइएको छ । अहिले मितेरी पुलको पुनःनिर्माण काम पनि शुरु गरिएको छ ।