बैंकर्स संघले डाक्यो आकस्मिक बैठक | राष्ट्र बैंकका अधिकारीको पनि उपस्थिति, फेरि अर्को भद्र सहमति हुँदै
काठमाडौं । नेपाल बैंकर्स संघले हाल वाणिज्य बैंकहरूबीच चलिरहेको ब्याज प्रतिस्पर्धालाई रोक्न आज बिहीवार हिउँसो आकस्मिक बैठक डाकेको छ । संघले उच्चस्तरीय समितिले तयार पारेको समस्याको पहिचान र समाधानका उपायसहितको प्रतिवेदन अर्थमन्त्री डा. युवराज खतिवडालाई बुधवार बुझाएपछि उक्त बैठक डाकेको हो ।
बैंक तथा वित्तीय संस्थाको नियामक निकायका अधिकारीहरूसमेतको उपस्थितिमा उक्त बैठक बस्न लागेको हो । हिजो साँझ साढे ६ बजे नै सबै बैंकरलाई बैठकको सूचना दिइएको थियो । बैंठकमा हाल निक्षेपमा बैंकहरूले बढाएर दिन थालेको ब्याज दर, तरलताका बारेमा छलफल हुनेछ । बैठकले फेरि पनि ब्याजदरमा भद्र सहमति गर्ने सम्भावना रहेको स्रोको दाबी छ ।
बैंकर्स संघका एक सदस्यले भने, ‘सहमति तोडेर आत्मघाती काम बैंकहरूले गरिसकेका छन् । अब फेरि सहमति नगरी सुखै छैन, नियामक निकायका अधिकारीको रोहवरमा सहमति गरियो भने त्यो दरिलो हुन्छ ।’ उक्त आकस्मिक बैठकले बचत खाताको ब्याजदरलाई मूल्य वृद्धि दरसँग मिलाएर तोक्न सक्नेछ । त्यहीअनुसार राष्ट्र बैंकले नीतिगत निर्णय गर्नेछ । यसैगरी मुद्दति र कल डिपोजिटको ब्याज दरका बारेमा पनि सहमति बन्नेछ ।
यसअघि नियामक निकाय नेपाल राष्ट्र बैंकले पनि अर्थमन्त्री युवराज खतिवडाले गठन गरेको उच्चस्तरीय समितिको प्रतिवेदन आएपछि ब्याज प्रतिस्पर्धाका बारेमा उचित निर्णय लिइने बताउँदै आएको थियो । आज बसिरहेको नियामक निकायका अधिकारीसहितको सो बैठकले अवश्य पनि बैंकरहरूलाई एउटा उचित निर्णयसहितको सहमति गरेर हाल देखिइरहेको ब्याज प्रतिस्पर्धाको समस्या समाधान गर्नेछ ।