काठमाडौं र ललितपुर महानगरपालिकाद्वारा मोनोरेलको डीपीआर सम्झौता | एक बर्षमा डीपीआर प्रतिवेदन तयार हुने

काठमाडौं । काठमाडौं र ललितपुर महानगरपालिकाले चक्रपथमा मोनोरेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न चिनियाँ कम्पनीसँग सम्झौता गरेका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र चाइना रेलवे २५औं व्युरो ग्रुप कम्पनी लिमिटेड ओभरसिस विजेनस म्यानेजमेन्ट विभागका प्रमुख झ्यु ग्वाङबिङबीच द्धिपक्षीय सम्झौता (एमओयु) भएको छ ।
अबको एक वर्षभित्र कम्पनीले डीपीआर तयार गरिसक्नेछ । चक्रपथमा मोनोरेल निर्माणका लागि एक खर्ब १६ अर्ब लागत लाग्ने प्रारम्भिक अध्ययनले देखाएको थियो । चिनियाँ अधिकारीहरुले यसको लागत केही घट्न सक्ने बताएका छन् ।
मोनोरेल निर्माण, सञ्चालन र हस्तान्तरण ९बुट प्रणाली० अन्तर्गत तयार हुने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए ।
चक्रपथमा निर्माण गर्न लागिएको मोनोरेलको फिजिविलिट स्टडी पनि सोही चिनियाँ कम्पनीले गरेको थियो। महानगर र चिनियाँ कम्पनीबीच ६ महिनामा फिजिविलिटी रिपोर्ट तयार पार्ने गरि सम्झौता भएको थियो । चिनियाँ कम्पनीले ३ महिनाअघि अध्ययन सकेर गत भदौमा रिपोर्ट बुझाइसकेको छ ।
सीआरसीसी चीन सरकारको स्वामित्व रहेको कम्पनी हो । मोनोरेल सञ्चालनका लागि भौगोलिक वातावरण समेत सबै प्रकारले उपयुक्त हुने चिनियाँ कम्पनीको दावी छ । प्रारम्भिक प्रतिवेदन अनुसार आयोजनाको डीपीआर निर्माणको लागि ६ महिना लाग्ने भनिए पनि एक वर्षको अवधि राखेर सम्झौता भएको छ ।
त्यसको ३ वर्षपछि मोनोरेल बनाउन सकिने प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । अब फटाफट योजनाअनुसार काम भए मात्रै पनि ४ वर्ष समय लाग्नेछ । यसका कारण मेयर विद्यासुन्दर शाक्यको पालामा रेल नगुड्ने निश्चित भएको छ । शाक्य मेयरमा निर्वाचित भएको २० महिना बितिसकेको छ । चिनियाँ रेल्वे अधिकारीले डीपीआर सहित ५ वर्ष समय लाग्ने बताएका छन् ।
महानगरका अधिकारीहरुको एक वर्ष उल्लेख गरिएपनि ६ महिनामा अनौपचारिक डीपीआर प्रतिवेदन दिन चिनियाँ कम्पनी तयार रहेको दावी छ ।
चक्रपथको सडकमाथिको कुल २७ दशमलब ५ किलोमिटरमा २१ स्थानमा यात्रु चढाउने र ओराल्ने स्टेशन रहने गरी मोनोरेल निर्माण गर्न सकिने प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । जसअनुसार मोनोरेलको स्टेशन कोटेश्वर−कलंकी, कलंकी−महाराजगञ्ज, महाराजगञ्ज−कोटेश्वर गरी तीन खण्डमा हुनेछ ।
चक्रपथमा ईपीसीएफ मोडलबाट सञ्चालन हुने भनिएको मोनोरेल दुई वा पाँच वर्ष सम्पूर्ण प्राविधिक सेवासहित सञ्चालन निर्माण कम्पनीले नै गर्ने प्रस्ताव छ । उक्त अवधिमा काठमाडौं र ललितपुर महानगरपालिकाले सीआरसीसीलाई वाषिर्क रुपमा स्म्झौता अनुसारको रकम बुझाउनेछन् ।
डीपीआर तयार भएपछि खुला प्रतिस्पर्धाबाट निर्माण, सञ्चालन तथा हस्तान्तरण ९बुट० मोडलमा रेलमार्ग निर्माणका लागि खुला प्रतिस्पर्धा गरिने मेयर शाक्यको भनाइ छ । त्यसमा उपयुक्त ठहरिएको कम्पनीले सीसीआरसीबाट डीपीआर किन्नुपर्ने उनले बताए ।
कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले मोनोरेल आफ्नो पनि चुनावी एजेण्डा रहेको भन्दै चिनिँया कम्पनीलाई जतिसक्दो छिटो काम अघि बढाउन आग्रह गरे ।