आँधिखोला लघुवित्तले चार लाख कित्ता आइपीओ जारी गर्ने |
काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले चार करोड रुपैयाँ बराबरको चार लाख कित्ता साधारण शेयर जारी गर्ने भएको छ । प्रति शेयर एक सय रुपैयाँ अंकित दरले सस्थाले आइपीओ जारी गर्नेछ । जसका लागि कम्पनीले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सो शेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमा आँधिखोला लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डोलराज केसी र एनआईबीएल एस क्यापिटलको तर्फबाट नायव महाप्रबन्धक कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरे ।
आँधिखोला लघुवित्तको अधिकृत पूँजी १५ करोड, जारी पूँजी १० करोड र चुक्ता पूँजी .६ करोड रहेको छ । सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी १० करोड हुनेछ ।
आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत २०७३ भाद्र १० गते पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको हो ।
२०७३ साल माघ १२ गते नेपाल राष्ट्र बैंकबाट ʽघʼ वर्गको इजाजतपत्र प्राप्त गरेको १० जिल्ले यस वित्तीय संस्थाले २०७३ फागुन १ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो ।
भिरकोट १, बयरघारी, स्याङजामा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै आफ्नो कार्यक्षेत्र स्याङजा, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलबस्तु, रुपन्देही, नवलपरासी, कास्की, लमजुङ र तनहुँमा गरी जम्मा हाल १९ वटा शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।
संस्थाले १२,२४६ विपन्न वर्गका महिला तथा पुरुष समूहहरुलाई करिव ४९ करोड २२ लाख कर्जा प्रवाह गरेको छ । त्यसैगरी बचत संकलन १४ करोड ४५ लाख गरी करिव ८० लाख मुनाफा गर्न सफल रहेको छ ।