मेलम्ची छोडेर भाग्ने दाउमा कम्पनी | प्रोजेक्ट म्यानेजरसहित थप ८ कर्मचारी पक्राउ, मेलम्ची फेरि लम्बियो
काठमाडौं । आगामी २३ महिनाभित्रमा मेलम्ची खानेपानी आयोजनाको स्वच्छ पानी पिउन पाउने राजधानीवासीको सपना फेरि पछि सर्ने निश्चित भएको छ । उक्त आयोजनाको निर्माण गर्ने जिम्मा पाएको निर्माण कम्पनी नै कार्यस्थल छोडेर आफ्ना कर्मचारीसहित स्वदेश भाग्न गरिरहेको प्रयासले सो कुराको पुष्टि भएको हो ।
मेलम्ची खानेपानी आयोजनाको ठेकेदार इटालियन कम्पनी सीएमसीले निर्माणाधीन मेलम्ची खानेपानी आयोजना आफूले छोडेको घोषणा गरेको छ । सो कम्पनीले आफ्नो प्रतिनिधिलाई उक्त आयोजना छोडेको घोषणा गरिएको पत्र बोकाएर सम्बन्धित आयोजनाको कार्यालयमा बुझाउन पठाए पनि कार्यालयका अधिकारीले उक्त पत्र बुझ्न अस्वीकार गरेका छन् ।
स्रोतका अनुसार ठेकेदार कम्पनीका प्रतिनिधि सो आयोजनाको बाँकी काम निर्माण गर्न नसक्ने व्यहोराको पत्र बोकेर आयोजनाको कार्यालयमा पुगेका थिए । पत्र बोकेर आयोजनाको कार्यालयमा पुगे पनि आयोजनाका अधिकारीले उक्त पत्र बुझ्न अस्वीकार गरेका थिए । खानेपानी मन्त्रालयले त्यस्तो पत्र नबुझ्न निर्देशन दिएकाले आयोजनाका अधिकारीले सोहीअनुसार उक्त पत्र बुझ्न अस्वीकार गरिदिए ।
स्रोतका अनुसार निर्माण कम्पनीले ‘फण्ड सर्टेज’ भएकाले आफूले काम अघि बढाउन नसक्ने कारण दिँदै उक्त आयोजना छोडेको घोषणा गरेको उक्त पत्रमा उल्लेख भएको बताइएको छ । साथै, यसअघि निर्माण कम्पनीले दाबी गरेको रकम डिसेम्बर १४ तारिखसम्म उपलब्ध गराउन समयसीमा दिए पनि नेपाल सरकारले बाँकी काम सम्पन्न गरेपछि मात्रै थप रकम भुक्तानी दिने जवाफ दिएको थियो ।
सरकारबाट पैसा नपाउने निश्चित भएपछि उक्त निर्माण कम्पनीलगायत त्यस कम्पनीका कर्मचारीहरू पनि सुटुक्क भाग्ने योजना पहिल्यै बनेको स्रोतको दाबी छ । सो कुराको पूर्वसूचना पाएपछि आयोजनाले नेपाल प्रहरीलाई जानकारी गराएको थियो । सोही सूचनाअनुसार नेपाल प्रहरीले नेपाल छोडेर स्वदेश इटाली भाग्न लागेका उक्त निर्माण कम्पनीका ८ जना कर्मचारीलाई काठमाडौंको ठमेलबाट पक्राउ गरेको छ ।
सम्बद्ध स्रोतका अनुसार नेपाल सरकारबाट पैसा नपाएपछि निर्माण कम्पनीका कर्मचारीले आजै (सोमवार) देश छाड्ने र भोलिपल्ट मात्र सरकारलाई आयोजना छोडेको पत्र दिने योजना बनेको रहेछ । स्वदेश भाग्ने क्रममा रहेका मेलम्ची खानेपानी आयोजनाको निर्माण गरिरहेको इटालियन कम्पनी सीएमसीका ८ कर्मचारीलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले हिजो बेलुकी ठमेलबाट नियन्त्रणमा लिएको हो ।
क्रिष्मस डे मनाउने बहानामा कार्यक्षेत्र छोडेर काठमाडौं आएका उनीहरूलाई हिजो आइतवार बेलुकी ठमेलको एक रेस्टुरेन्टबाट नियन्त्रणमा लिएर खानेपानी मन्त्रालयको जिम्मा लगाएको वृत्तका प्रमुख डीएसपी दानबहादुर मल्लले जानकारी दिएका हुन् । ‘उनीहरू ठमेल एरियामा हुन सक्ने भन्दै निगरानी गरिदिन मन्त्रालयबाट सूचना आएपछि लोकेट गरिदिएका हौं’ उनले थपे, ‘हामीले मन्त्रालयकै जिम्मा लगाएका छौं ।’
स्रोतका अनुसार पक्राउ पर्नेमा प्रोजेक्ट म्यानेजर क्रिश्चियानो ग्रेचोसहितका कर्मचारीहरू रहेका छन् । यसअघि एक जना कर्मचारीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अध्यागमनले रोकेको थियो । अनुसन्धानका क्रममा उनैले अन्य कर्मचारीहरू पनि भाग्न खोजेको सूचना दिएका थिए । सोही आधारमा थप ८ जना कर्मचारी पक्राउ परेका हुन् ।
‘उनीहरूले पासपोर्ट तयार पार्नेदेखि लिएर टिकट काट्नसमेत भ्याइसकेका थिए’, एक अधिकारीले भने, ‘गैरजिम्मेवार तरिकाले भाग्न खोजेपछि प्रहरीको सहयोग लिएका हौं ।’
अहिले मन्त्रालयले उनीहरूको पासपोर्ट खोसेको छ । कम्पनीको स्थिति नाजुक बन्दै गएपछि आफूहरू स्वदेश भाग्न खोजेको पक्राउ परेकाहरूले समेत स्वीकार गरिसकेको प्रहरीको दाबी छ ।