हनुमन्ते खोलामा २ करोडको लागतमा पुल बन्दै |
काठमाडौं । मध्यपुरथिमि नगरपालिकाको थिमि र सूर्यविनायक नगरपालिका–४ दधिकोट जोड्ने हनुमन्ते खोलामा पुल निर्माण हुने भएको छ । २ करोड १ लाखको लागतमा निर्माण हुने उक्त पुलको प्रतिनिधिसभाका सदस्य महेश बस्नेतले शिलान्यास गरेका हुन् ।
सो अवसरमा सांसद बस्नेतले एक दर्जन पुलको निर्माण कार्य अगाडि बढिरहेको जानकारी दिँदै गाउँगाउँमा पक्की सडक र सबै खोला तथा नदीमा पुल निर्माण कार्य भइरहेको बताएका छन् ।
मध्यपुरथिमि नगरपालिका र सूर्यविनायक नगरपालिकाले आयोजना गरेको शिलान्यास कार्यक्रममा प्रदेश नं ३ का सांसद शशिजंग थापा, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, प्रमुख जिल्ला अधिकारी नारायण भट्ट, मध्यपुरथिमि नगरपालिका–४ का वडा अध्यक्ष कुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।