नेपाल एयरलाइन्सले आन्तरिकतर्फ पनि थाल्यो अनलाइन टिकट बुकिङ |

काठमाडौं । नेपाल एयरलाइन्सको कार्यालयमै पुगेर टिकट काट्नुपर्ने बाध्यताको अन्त्य भएको छ । अबदेखि नेपाल एयरलाइन्सका यात्रुहरूले घरमै बसेर टिकट बुकिङ गर्न पाउने भएका छन् । एयरलाइन्सले आन्तरिकतर्फको हवाई सेवामा पनि अनलाइन टिकट बुकिङ सेवा शुरू गरेसँगै एयरलाइन्सको कार्यालयमै पुगेर टिकट बुकिङ गर्नुपर्ने बाध्यताको अन्त्य भएको हो ।
एयरलाइन्सले गतवर्षबाट अन्तरराष्ट्रियतर्फको हवाई सेवामा अनलाइन बुकिङ थालेको थियो । एयरलाइन्सका प्रवक्ता अशोक सिग्देलले आन्तरिक सेवाको पनि अनलाइन बुकिङको सफ्ट लञ्च भएको जानकारी दिएका हुन् । उनका अनुसार अब यात्रुहरूले घरमै बसेर नेपाल एयरलाइन्सको टिकट काट्न पाउनेछन् ।
‘सेवा शुरु गरेको ६० वर्षपछि हामीले आन्तरितर्फ पनि अनलाइन बुकिङ सेवा शुरु गर्यौं,’ सिग्देलले भने, ‘यसले हाम्रो बजार विस्तार गर्न सहयोग पुग्नेछ ।’ यो सेवा शुरू भएपछि एयरलाइन्सलाई अन्य हवाई कम्पनीसँग प्रतिस्पर्धा पनि सहज हुनेछ । निगमले अहिले विभिन्न आन्तरिक हवाई गन्तब्यमा उडान गरिरहेको छ ।
निजीक्षेत्रका हवाई कम्पनी सुगम क्षेत्रमा केन्द्रित भए पनि नेपाल एयरलाइन्सले दुर्गम क्षत्रेमा हवाई उडान गरिरहेको छ । एयरलाइन्सले अहिले ट्वीनटर, चिनियाँ एमए ६० र वाई १२ ई विमानबाट आन्तरिक हवाई सेवा दिँदै आएको छ ।