मेगा बैंकले शुरू गर्यो थ्रीडी सेक्योर प्रविधि | अब इण्टरनेटमा कार्डमार्फत वस्तु तथा सेवा खरीद गर्न सकिने

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले हालै अर्को नयाँ प्रविधिमार्फत आफ्ना ग्राहकलाई वित्तीय सेवा दिने भएको छ । बैंकले इण्टरनेटमा कार्डमार्फत वस्तु तथा सेवा खरिद गर्न चाहने ग्राहकका लागि थ्रीडी सेक्योर प्रविधि सञ्चालनमा ल्याएको हो ।
बैंकका अनुसार भिसा कार्ड इन्टरनेशनलको ‘भेरिफाइड बाई भिसा’ मा आधारित यो प्रविधि अनलाइन कार्ड कारोबारका लागि अतिरिक्त सुरक्षा तहका रूपमा रहन्छ । बैंकले भिसासँगको साझेदारीमा आइजिल्याण्ट टेक्नोलोजीमार्फत यो सेवा सञ्चालनमा ल्याएको हो ।
ग्राहकले सेवामार्फत प्रत्येक कारोबार गर्दा इमेल तथा मोबाइलमा छुट्टै पिन नम्बर प्राप्त गर्न सक्ने भएकाले अनलाइन कार्ड कारोबार अझै सुरक्षित हुने बैंकको दाबी छ ।
यस प्रविधिबाट गरिएको अनलाइन कार्ड कारोबारमा जालसाजी एवम् नक्कली कारोबारको जोखिम कम हुने बैंकको दाबी छ । बैंककी सीईओ अनुपमा खुञ्जेलीले थ्रीडी सेक्योर प्रविधिको शुरुवातले मेगा बैंकका कार्ड प्रयोगकर्ता ग्राहकको कारोबार सुरक्षित बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । मेगा बैंकको अत्याधुनिक कार्ड सेवाले ग्राहकलाई विश्वस्तरीय सेवा उपभोगको अनुभव दिने उनको भनाइ छ ।
आइजिल्यान्ट टेक्नोलोजीका सीईओ प्रशान्त मेन्गावाडेले आफूहरूसँगको सहकार्यमा मेगा बैंकले भरपर्दो र सुरक्षित कार्ड सेवा शुभारम्भ गरेको भन्दै यसले नेपालको डिजिटल कारोबारको बढोत्तरीमा मद्दत मिल्ने बताए ।