कर्मचारीको जीवन बीमा अब राष्ट्रिय बीमा संस्थानले गर्ने |

काठमाडौं । नागरिक लगानी कोषले सञ्चालन गर्दै आएको निजामती कर्मचारीहरूको जीवन बीमा कार्यक्रम अबदेखि राष्ट्रिय बीमा संस्थानले गर्ने भएको छ । राष्ट्रिय बीमा संस्थानले जीवन बीमा कार्यक्रम आफ्नो क्षेत्राधिकार भएको र कर्मचारीको बीमा पनि आफैंले गर्न पाउनुपर्ने जिकिर गरेपछि अर्थ मन्त्रालयको रोहबरमा संस्थान र कोषबीच भएको छलफलपछि जीवन बीमा व्यवस्थापनको जिम्मा संस्थानले पाएको हो ।
नागरिक लगानी कोषले विगत १२ वर्षदेखि १ लाख रुपैयाँबराबरको कर्मचारीको बीमा गर्दै आएको थियो । चालू आवदेखि सरकारले बीमांक रकम वृद्धि गरी २ लाख रुपैयाँ पुर्याएको छ ।
अर्थ मन्त्रालयले दीर्घकालीन समाधान निकाल्दै ‘जीवन बीमा सञ्चालन कार्यविधि २०७५’ पारित गरेको छ । उक्त कार्यविधिअनुसार नागरिक लगानी कोषले सञ्चालन गर्दै आएको बीमा कार्यक्रम संस्थानमा स्थानान्तरण हुने भएको हो । कार्यविधिअनुसार बीमा गराउँदा कर्मचारीबाट ४ सय रुपैयाँ र सरकारको तर्फबाट ४ सय रुपैयाँ तिर्नुपर्छ । यसैअनुसार कोषले बीमा संस्थानलाई हरेक वर्षको साउन १ गते वार्षिक ९ हजार ६ सय रुपैयाँ बीमा शुल्क भुक्तानी गर्नुपर्ने हुन्छ ।
कोषले आर्थिक वर्ष सकिएपछि बीमा शुल्क भुक्तानी लिँदै आएकोमा यस पटक संस्थानमार्फत बीमा गर्नुपर्ने भएपछि हिसाबकिताब मिलान तथा व्यवस्थापनको लागि पुस १ गतेदेखि १५ गतेसम्म बीमा कोषको सेवा बन्द गर्न लागिएको कोषका कार्यकारी निर्देशक रमण नेपालले जानकारी दिए । ‘जीवन बीमा सञ्चालन कार्यविधि २०७५’ साउन १ गतेदेखि कार्यान्वन हुने भनिए पनि मन्त्रालयबाट भर्खरै पारित भएको हो । यो कार्यविधिमा साउन १ गतेदेखि नै राष्ट्रिय बीमा संस्थानबाट पोलिसी कार्यान्वयन हुने व्यवस्था छ ।
कोषले संस्थानलाई प्रत्येक बीमितको नाममा उक्त रकम भुक्तानी गर्नुपर्छ। तर, कोषमा ९ हजार ६ सय रुपैयाँभन्दा कम जम्मा भएका राष्ट्र सेवकले नागरिक लगानी कोषमा सम्पर्क गरी रकम भुक्तानी गर्नुपर्नेछ । यो योजनाअनुसार निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सामुदायिक विद्यालयका शिक्षकहरूको तर्फबाट मासिक ४ सय रुपैयाँ र सरकारको तर्फबाट मासिक ४ सय गरी जम्मा ८ सय रुपैयाँ कोषले लिनेछ । यसबापत कोषले प्रशासनिक खर्चबापत केही रकम प्राप्त गर्छ र वार्षिक रुपमा एकमुष्ट ९ हजार ६ सय रुपैयाँ संस्थानलाई उपलब्ध गराउनेछ ।
सावधिक जीवन बीमा योजनाअनुसार अधिकतम उमेर ७० वर्षसम्म कायम हुनेछ । यदि कर्मचारीको अवकाश उमेर ५० वर्ष र कार्यविधि २० वर्षभन्दा कम हुन आएमा छुट्टै फारम भर्नुपर्ने व्यवस्था गरिएको छ । बीमा अवधि पूरा हुन नआउनेको हकमा नागरिक लगानी कोषको खातामा रहेको बीमा कोषबाट भुक्तानी गरिनेछ । राष्ट्र सेवकले २० वर्षको अवधिमा कुल बीमा शुल्क भुक्तानी गर्दा १ लाख ९२ हजार रुपैयाँ भुक्तानी गर्दछ । यही रकमका आधारमा कोषले नपुग बीमांक रकम बीमा कम्पनीलाई भुक्तानी गर्नेछ ।
कोषले भुक्तानी गर्ने बीमांक रकम चालू आवसमेतको हो । आगामी आवदेखि सरकारले बीमा संस्थानलाई नै बीमांक रकम दिनेछ । यो कार्यविधि कार्यान्वयनपछि नियुक्त भएका राष्ट्र सेवकले अहिलेसम्मको विलम्ब शुल्क भुक्तानी गरेर मात्रै योजनामा सरिक हुन सक्नेछन् वा आगामी साउन १ गतेदेखि योजनामा सरिक हुन सक्नेछन् । चालू आवभित्रै अवकाश हुने राष्ट्र सेवकले यो योजनालाई निरन्तरता दिन नचाहेमा कोषमा जानकारी गराउनुपर्ने हुन्छ । बीमितले आवको शुरुमै वार्षिक रुपमा बीमा शुल्क भुक्तानी गर्नुपर्छ ।
यो योजना परिपक्व भएसँगै बीमितले बीमांक रकम र आर्जित बोनस एक मुष्टरुपमा प्राप्त गर्न सक्छन् । यदि बीमा अवधि नसकिँदै बीमितको मृत्यु भएमा बीमांक रकम र आर्जित बोनस रकम प्राप्त गर्न सक्छन् । कोषको बीमा कोषमा १२ वर्षको अवधिमा १७ अर्ब रुपैयाँभन्दा धेरै रकम जम्मा भइसकेको छ ।