मिथिला लघुवित्तका थप तीन शाखा सञ्चालनमा, शाखा संख्या अब २६ पुग्यो |
काठमाडौं । धनुषाको ढल्केवरमा केन्द्रीय कार्यालय रहेको मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो कार्यक्षेत्र विस्तार गर्ने क्रममा हालै दुई जिल्लाका तीन स्थानमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । संस्थाले महोत्तरीको सोनमा गाउँपालिकाको सोनमा र धनुषाको सहिदनगर नगरपालिकाको धवौली र धनौजी गाउँपालिकाको बहुअर्वामा नयाँ शाखा संचालनमा ल्याएको हो ।
बिहीवार आयोजित छुट्टाछुट्ट कार्यक्रममा सोनमा शाखाको सोही गाउँपालिकाका अध्यक्ष राजकुमार यादव र संस्थाका अध्यक्ष शिवप्रसाद साह, धवौली शाखाको सहिदनगर नगरपालिकाका– ७ का वडाध्यक्ष मनोज मण्डल र संस्थाका अध्यक्ष साह र बहुअर्वा शाखाको धनौजी गाउँपालिका– ५ का वडाध्यक्ष पङ्कज मण्डल र वित्तीय संस्थाका अध्यक्ष साहले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
यी तीनवटा शाखाको उद्घाटनसँगै अब यस संस्थाको शाखा संख्या कुल २६ पुगेको छ । संस्थाले हाल १७ हजार ग्राहक सदस्यलाई करिब रू. १७ करोड कर्जा लगानी गरेको छ भने रू. १८ करोड बचत संकलन गरेको छ ।