जाडोमा यसरी गरौं गुलाबको फूलको हेरचाह |
जाडो मौसममा चिसो हावा चल्नाले बगैंचाका संवेदनशील बिरुवा नाश हुने सम्भावना रहन्छ । बगैंचाको सबैभन्दा सुन्दर बिरुवा गुलाबलाई जाडो मौसममा सबैभन्दा धेरै हेरचाहको आवश्यकता पर्छ । गुलाबको फूलका पात सबैभन्दा धेरै कमजोर हुन्छन् । तापक्रम घट्दा वा बढ्दा सबैभन्दा धेरै असर यिनै पातमा पर्छ । त्यसैले, जाडो मौसममा गुलाबको हेरचाह गर्नु अति नै आवश्यक हुन्छ । जाडो मौसममा गुलाबको फूलको हेरचाह यसरी गर्न सकिन्छ ː
बिरुवालाई ढाक्नुहोस्
जाडो मौसममा रातिको समयमा चिसो हावा चल्ने भएकाले गुलाबको बिरुवालाई प्लाष्टिकले ढाक्नुपर्छ । तपाईं कार्डबोर्ड वा प्लाष्टिकको बाकसको प्रयोग गरी ढाक्न सक्नुहुन्छ । यो तरीका अपनाई गुलाबको बिरुवा सुरक्षित राख्न सकिन्छ ।
फोहोर वस्तु सफा गर्नुहोस्
गुलाबको बिरुवा अति संवेदनशील हुन्छ । यदि तपाईंको घरमा गुलाबको बिरुवा नजिक सुकेका पातपतिङ्गर या फोहोर छ भने त्यसलाई सफा गर्नुहोस् । गुलाबको बिरुवामा फोहोरको सङ्क्रमण भएमा विभिन्न रोग लाग्ने सम्भावना हुन्छ ।
पानी दिनुहोस्
जाडो मौसममा गुलाबको बिरुवा छिट्टै ड्राई तथा डिहाइड्रेट हुन्छ । यस्तोमा हरेक दिन पानी दिनुभयो भने बिरुवा ताजा रहन्छ । सही मात्रामा पानी दिनाले बिरुवाको विकास राम्रोसँग हुन्छ ।
जरालाई ढाक्नुहोस्
यदि तपाईंको घरमा गुलाबको बिरुवा धेरै नै ठूलो भएको छ भने त्यसलाई पूरै ढाक्न मुश्किल हुन जान्छ । यस्तोमा तपाईंले बिरुवाको जरालाई मात्र ढाक्दा राम्रो हुन्छ । जरालाई ढाक्नाले पूरै बिरुवालाई चिसो हावाको असरबाट जोगाउन सकिन्छ । कुनै घाँसले पनि गुलाबको जरा ढाक्न सकिन्छ ।
घरभित्र राख्नुहोस्
गुलाबलाई गमलामा पनि लगाइने हुनाले यसलाई जाडोमा घरभित्र लगेर राख्न सकिन्छ । तपाईं घरभित्र पनि ‘इण्डोर गार्डेनिङ’ गर्न सक्नुहुन्छ । यसले गुलाबलाई कडा घामबाट जोगाउन सकिन्छ । बिरुवालाई घामको आवश्यकता प¥यो भने केही समय घाममा राखेर पुनः छहारीमा लगेर पनि राख्न सक्नुहुन्छ ।