जयनगर–जनकपुर खण्डमा नेपालका आफ्नै रेल गुड्ने | दुईवटा रेल किन्ने मन्त्रिपरिषद्को निर्णय, खरिद प्रक्रिया अन्तिम चरणमा
काठमाडौं । नेपालले आगामी अढाइ महिनामै जनकपुर–जयनगर ३५ किलोमिटर दूरीमा आफ्नै लोगो भएका दुईवटा रेल गुडाउने निर्णय गरेको छ । सरकारले जयनगरदेखि जनकपुरको कुर्थासम्मको रेलमार्गमा आफैंले रेल किनेर गुडाउने निर्णय गरेको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मन्त्रिपरिषद्ले आफ्नै रेल खरिदसम्बन्धी निर्णयसमेत गरिसकेको खुलासा गरे । उनले भने, ‘रेल किन्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ, अब बढीमा तीन महिनाको समय भारतीय पक्षले दिएको छ । मूल्यसूची पनि आइसकेको छ र हामीले स्वीकृतसमेत गरिसकेका छौं ।’
उनले भने, ‘हामी डिसेम्बर १२ देखि नै रेल सञ्चालन गर्ने पक्षमा थियौं । हाम्रा सबै डकुमेण्टहरू मिलिसकेका थिए । तर, पछि सब लिजमा चलाउने होइन, नेपाल सरकारले आफैं किनेर रेलवे सञ्चालन गर्ने गरी हामीले दुईवटा रेल आफैं किन्ने भएका छौं ।’