पञ्जीकरण नभएका सार्वजनिक यातायात पुस १ गतेदेखि गुड्न नपाउने |

काठमाडौं । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएको व्यवस्था बमोजिम मङ्सिर मसान्तसम्म पञ्जीकरण नहुने सार्वजनिक यातायात आगामी पुस १ गतेदेखि गुड्न नपाउने भएकका छन् । विभागले मङ्सिर २२ गते सूचना प्रकाशित गरी कुराको जानकारी दिइसकेको छ । विभागमा पञ्जीकरण हुन तोकिएको आठ महीनाको अवधिमा तीन हजार कम्पनीका आठ हजार सवारीको मात्र अभिलेख आएको प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।
कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई विभागमा पञ्जीकरण गरेर मात्र सार्वजनिक यातायात चलाउन संसद्को विकास समितिले २०७४ साल भदौ ५ गते सरकारलाई निर्देशन दिएको थियो । यससम्बन्धी व्यवस्था गर्न विभागले गत चैत १८ गते निर्देशिकासमेत जारी गरेको थियो ।
कम्पनीमा दर्ता भएर विभागमा पञ्जीकरण नभएका सवारी सडकमा गुडे नियन्त्रणमा लिइने विभागले जनाएको छ । यसअघि सङ्घ संस्था ऐनअनुसार सामाजिक संस्थाका रुपमा दर्ता भएका यातायात समितिलाई गत साउनदेखि नै नवीकरण बन्द गरिएको थियो । सवारी कम्पनीमा दर्ता भई विभागमा पञ्जीकरण गरेपछि यातायात एकाधिकार हट्ने विश्वास गरिएको छ ।
यसअघि गत असारसम्म २९२ यातायात समितिमा दुई लाखभन्दा बढी सवारीसाधन आबद्ध थिए । सवारी कम्पनीमा दर्ता नभई सञ्चालन हुँदा यात्रुले दुःख पाउने गरेका छन् ।