एनआरएनएद्वारा आधुनिक कृषि बजार निर्माण गर्न सरकारसँग जग्गा माग | डेढ अर्बको लागतमा कृषि बजार बनाउने
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा आधुनिक कृषि बजार बनाउने योजना अगाडि सारेको छ । बजार निर्माणका लागि जग्गा उपलब्ध गराइदिन सरकारसँग आग्रह गरिएकको एनआरएनका उपाध्यक्ष कुलदीप आचार्यले जानकारी दिएका छन् । आचार्यको नेतृत्वमा आएको टोलीले शुक्रबार कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवलाई मन्त्रालयमा भेटेर जग्गा उपलब्ध गराइदिन आग्रह गरेको हो ।
एनआरएनले काठमाडौंमा कृषिजन्य पदार्थको प्रोसेसिङ सेन्टर र काठमाडौं बाहिर कलेक्सन सेन्टर निर्माण गर्ने बताएको छ । त्यसका लागि प्रयोगमा नरहेको ५० रोपनीभन्दा बढीको सरकारी जग्गा २० वर्षका लागि लिजमा उपलब्ध गराउन मन्त्री खनालसँग आग्रह गरेको हो ।
एकदेखि डेढ अर्व रुपैयाँ लगानी गर्ने गरी ७ जनाको विज्ञ टिमले आर्थिक प्रतिवेदन तयार गरिरहेको एनआरएनले जानकारी दिएको । कलेक्सन सेन्टरका लागि काठमाडौं बाहिर प्रदेश १ को सरकारसँग छलफल गर्ने बताइएको छ ।
नाफामूलकभन्दा पनि सामाजिक उत्तरदायित्वका लागि गर्न लागिएको उक्त कामले किसानलाई ठूलो राहात मिल्ने र तरकारी, फलफूल र मासुजन्य पदार्थको आयात न्यून गर्दै आत्म निर्भरताका लागि सहयोग पुग्ने एनआरएन उपाध्यक्ष आचार्यको भनाइ छ । एनआरएनले निर्माण गर्ने उक्त बजार सरकारको स्वामित्वमा रहनेछन् ।
जवाफमा मन्त्री खनालले प्रस्ताव उपयुक्त रहेको भन्दै प्रधानमन्त्रीसँग पनि आफूले छलफल गर्ने जानकारी दिए । काठमाडौंमा जग्गा अभाव रहेको भन्दै सहकारी र केही कम्पनीहरुले पनि तरकारीको आधुनिक बजारका लागि जग्गा खोजिरहेको खनालले जानकारी दिए ।
कृषि मन्त्रालयले पनि काठमाडौं छिर्ने ५ वटा नाकामा कृषि बजार निर्माण गर्ने योजना बनाएको छ । त्यसका लागि ५ करोड रुपैयाँ छुट्टाइएको छ भने किसानलाई ५० प्रतिशत अनुदान हुनेछ । काठमाडौंमा उपयुक्त जग्गा प्राप्त भएमा कालिमाटीको फलफूल तथा तरकारी बजारलाई त्यहाँबाट विस्थापित गर्ने मन्त्री खनालको योजना छ ।