नेशनल माइक्रोफाइनान्सले दिने भो ४० प्रतिशत लाभांश | संस्थापकतर्फका चार जना सञ्चालकमा निर्वाचित, चुक्ता पूँजी बढेर पुग्यो १५ करोड

काठमाडौं । धादिङ जिल्लाको धादिङबेंसीमा प्रधान कार्यालय रहेको नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको पाचौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । सभाले आफ्ना शेयरधनीहरूलाई २५ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । संस्थाले उक्त ४० प्रतिशत लाभांश आर्थिक वर्ष २०७४७५ को नाफाबाट वितरण गर्न लागेको बताएको छ ।
बोनस शेयर वितरणपश्चात् संस्थाको चुक्ता पूँजी १२ करोड ३ लाख ५६ हजारबाट वृद्धि भई १५ करोड ४ लाख ४५ हजार पुग्नेछ ।
धादिङ बेंसीमा सम्पन्न उक्त सभाले सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद आचार्यको प्रस्तुत गरेको आ.व. २०७४७५ को वासलात, नाफानोक्सान हिसाबलगायत अन्य वित्तीय विवरणसहितको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

साथै, सभाले संस्थापकतर्फबाट चार जना सञ्चालकहरू निर्वाचित गरेको छ । नवनिर्वाचित सञ्चालकहरूमा नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट रविन सिँजापती र वरुण श्रेष्ठ, कुमारी बैंकको तर्फबाट राजीव गिरी र केशवप्रसाद आचार्य रहेका छन् ।
यस संस्थाले हाल हिमाल, पहाड र तराईका गरी सातैवटा प्रदेशका ३७ वटा जिल्लामा ५० वटा शाखा कार्यालयमार्फत ६६ हजारभन्दा बढी विपन्न परिवारलाई लघु वित्तीय सेवा प्रदान गरी विपन्न परिवारको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्याएको छ ।
२०७१ साल असार १८ गतेदेखि सञ्चालनमा आएको राष्ट्रियस्तरको यस संस्थाको कर्जा लगानी रू. २ अर्ब ६३ करोड र बचत रू. ८४ करोडभन्दा बढी रहेको छ ।
