आईएमई जनरल इन्स्योरेन्स ४३ लाख २० हजार कित्ता हकप्रद निष्कासन गर्दै | पुस १७ गतेदेखि आवेदन खुल्ला, हकप्रदपछि चुक्ता पूँजी करिब ९७ करोड पुग्ने
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले पुस १७ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले हालको चुक्ता पूँजीको ८० प्रतिशतले हुन आउने ४३ करोड २० लाख रुपैंयाँबराबरको ४३ लाख २० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
उक्त हकप्रद शेयरका लागि मंसिर ६ गतेसम्म आफ्नो नाममा शेयर कायम भएका शेयरधनीले आफ्नो खाता रहेको बैंकबाट सीआस्बामार्फत् आवेदन गर्न पाउनेछन् । शेयर निष्कासन अवधि माघ २१ सम्म रहने इन्स्योरेन्सले जनाएको छ । उक्त हकप्रदको निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।
हाल करिब ५४ करोड चुक्ता पूँजी भएको इन्स्योरेन्सको उक्त हकप्रद जारी गरेपछि चुक्ता पूँजी करिब ९७ करोड पुग्नेछ । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरूलाई कम्तीमा १ अर्ब चुक्ता पूँजी पुर्याउन भनेकोमा अपुग करिब ३ करोड पूँजी बोनस शेयर दिएर पुर्याउनेछ ।