काठमाडौं उपत्यकाभित्रका बस स्टपमा ‘पिक एण्ड ड्रप’को व्यवस्था हुँदै |

काठमाडौँ । काठमाडौं उपत्यकामा यही मंसिर २९ गतेदेखि बस स्टेशनहरूमा बस तोकिएको समयभन्दा बढी बस रोकेर प्यासेञ्जर कुर्न नपाउने व्यवस्था लागू हुने भएको छ । काठमाडौं उपत्यकाभित्र गुड्ने सवारीसाधनले बसस्टपमा लामो समय पार्किङ गर्न थालेपछि महानगरले त्यस्तो व्यवस्था गर्न लागेको हो । महानगरपालिकाका अनुसार अबदेखि काठमाडौं उपत्यकाका सबै रुटहरूमा ‘पिक एण्ड ड्रप’को नियम लागू हुनेछ ।
काठमाडौं महानगरपालिकाले मंसिर २९ गते २४औं महानगर दिवस मनाउँदै छ । सोही दिनदेखि उपत्यकामा यस्तो नियम लागू हुने महानगरका मेयर विद्यासुन्दर शाक्यले हिजो बिहीवार पत्रकार समेलनमार्फत जानकारी दिएका हुन् । महानगरपालिकाले उक्त व्यवस्था लागू भएपछि सवारी जामले गर्दा दिकदार भएका सर्वसाधारणलाई केही राहत दिन ‘पिक एण्ड ड्रप’ नियम लागू गर्न लागेको बताएको छ ।
उनले पुस १ गतेदेखि लागू हुने गरी उक्त नियम ल्याएको र सो दिनदेखि कुनै पनि सार्वजनिक सवारीसाधनहरूले आफ्नो स्टेशनमा यात्रुहरू नकुरी भएका यात्रु लिने र जाने नियम ल्याएको बताए । ‘यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी महाशाखा तथा सडक विभागसँगको सहकार्यमा उक्त नियम ल्याएका हौं,’ उनले भने, ‘यो नियम हाल काठमाडौंको रिङरोडभित्र धेरै जाम हुने स्थानमा लागू गर्ने र पछि त्यसलाई विस्तार गर्ने योजना बनाएका छौं ।’
महानगर दिवसको अवसरमा महानगरपालिकाले महानगरपालिकाभित्रका विभिन्न बाजाका गुरुहरूलाई पुरस्कार, महानगरभित्रका उत्कृष्ट ३ वटा विद्यालयलाई पुरस्कार, उत्कृष्ट करदाताहरूलाई पुरस्कार प्रदान गर्नेलगायतका कार्यक्रम आयोजना गर्ने जानकारी दिएको छ ।