माघको दोस्रो हप्ता फास्ट ट्रयाकको डीपीआर तयार हुन्छː उपप्रधानमन्त्री पोखरेल |

काठमाडौं । काठमाडौं तराई फास्ट ट्रयाकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) माघ दोस्रो हप्ता तयार हुने उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बताएका छन् ।
राज्य व्यवस्था समितिको बिहीबारको बैठकमा उनले ग्लोबल टेण्डरबाट छनोट भएको कोरियाली कम्पनीले माघ दोस्रो हप्तासम्म डीपीआर दिने बताएका हुन् । ‘डीपीआरलाई औपचारिकता दिन ग्लोबल टेण्डरबाट कोरियाली कम्पनीलाई दिइसकिएको छ । उसले माघको दोस्रो हप्तामा कम्प्लिट गरेर दिन्छ’ उनले भने ।
सरकारले स्वीकृत गरेको वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन र मन्त्रिपरिषदले २०७४ वैशाख २१ गते परामर्शदाता खरिद गर्न स्वीकृत दिने निर्णय गरेको भन्दै यीनै आधारमा फास्ट ट्रयाकको काम अघि बढाइएको उपप्रधानमन्त्री पोखरेलको भनाई छ ।
ललितपुरको खोकना क्षेत्रका वासिन्दाले विरोध जनाउँदा डीपीआरविना नै काम गरिएको आरोप उनीहरुले लगाएका छन् । उपप्रधानमन्त्री पोखरेलले भने डीपीआर नभए पनि एशियाली विकास बैंकको फिजिबिलिटी स्टडी र सोही आधारमा भएको रेखांकनको आधारमा काम अघि बढाइएको बताए ।