गृहमन्त्रीद्वारा खोकनाको मुआब्जा वृद्धि नगर्ने संकेत |
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले फास्ट ट्रयाकको प्रस्थान विन्दु खोकनाका जग्गाको मुआब्जा वृद्धि गर्दा देशव्यापी रूपमै असर पर्ने भन्दै यसमा पुनर्विचार गर्न नसकिने संकेत गरेका छन् । उनले आज संसद्को राज्य व्यवस्था समितिको बैठकमा खोकनाको जग्गामा मुआब्जा तोक्दा निश्चित मापदण्डकै आधारमा तोकिएको बताउँदै त्यस्तो संकेत गरेका हुन् ।
उनले विभिन्न आयोजनाका लागि जग्गा अधिग्रहण गरिएका देशका धेरै स्थानबाट मुआब्जा वृद्धिका लागि निवेदन आएको बताए । खोकना एक ठाउँका लागि मात्र विशेष व्यवस्था गर्न नसकिने उनको भनाइ थियो ।
उनले भने, ‘गृहलाई समस्या के छ भने कि त मापदण्ड बदल्नुपर्यो, मापदण्डअनुसार जाने हो भने मुआब्जा बढाउन सकिँदैन, यो आयोजनाका लागि मुआब्जा वृद्धि गर्दा देशव्यापी रूपमा सम्बोधन गर्नुपर्छ ।’
उनले मुआब्जा वृद्धि गर्ने नै हो भने सरकारले नीतिगत व्यवस्था गरेर नयाँ मापदण्ड बनाउनुपर्ने जिकिर गरे । उनले भने, ‘नीतिगत रूपमा मापदण्डहरूलाई बदलेर मात्र मुआब्जा वृद्धि गर्न सकिन्छ, अन्यथा गर्न सक्ने स्थिति हुँदैन, मुआब्जा वृद्धि होस्, पुनर्विचार होस् भनेर गृहमा यस्ता देशव्यापी रूपमा निवेदनहरू आएका छन् । यस्ता समस्या नीतिगत रूपमा नै विचार गरेर हल गर्न सकिएला ।’