आन्दोलनरत कपडा उद्योगीको माग पूरा | ब्याजमा ५ प्रतिशत अनुदान, भन्सार छुट, विद्युत् महुलमा ५० प्रतिशत नगद अनुदान

काठमाडौं । आफूले पाउँदै आएको अनुदान तथा भ्याट छुटलगायतका विभिन्न सुविधा सरकारले कटौति गरेपछि आन्दोलनरत कपडा उद्योगीको माग सरकारले सम्बोधन गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले कपडा उद्योगीहरूलाई बैंकको ब्याजमा अनुदान दिने, भन्सार छुट दिनेलगायतका निर्णयहरू गरेको छ ।
उद्योगीहरूको माग सम्बोधनका लागि गठित समितिले दिएको सुझावका आधारमा सरकारले निर्णय गरेको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताए । सरकारले दिँदै आएको भ्याट छुट सुविधा खोसिएपछि कपडा उद्योगीहरूले आन्दोलन गरेका थिए ।
सरकारको गरेको नयाँ निर्णयअनुसार अब कपडा उद्योगहरूले विद्युत् महशुलमा ५० प्रतिशत नगद अनुदान पाउनेछन् । यसैगरी उद्योगको मिलमेशिनरी सामान आयातमा एक प्रतिशत मात्र भन्सार लिइनेछ । जबकि यो १ देखि १५ प्रतिशतसम्म भन्ने थियो । कपडा उद्योगीहरूले लिएको वा अब लिने बैंकको ऋणको ब्याजदरमा ५ प्रतिशत अनुदान दिइनेछ भने उत्पादन निर्यात गर्दा पनि ५ प्रतिशत अनुदान दिइनेछ ।
यसअघि दिइँदै आएको दिइरहेको भ्याट छुट तथा सुविधा पनि नखोसिने मन्त्री बाँस्कोटाले जानकारी दिए ।