उच्चस्तरीय अध्ययन समितिमा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष |

काठमाडौं । मुद्रा बजार र पूँजी बजारको विषयमा अध्ययन गर्न गत साता गठन गरिएको उच्चस्तरीय अध्ययन समितिमा सरकारले लगानीकर्ताको तर्फबाट नेपाल इन्भेष्टर्स फोरमको प्रतिनिधिलाई राखेको छ । उक्त समितिमा लगानीकर्ताको तर्फबाट फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले प्रतिनिधित्व गर्ने भएका छन् ।
अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा धितोपत्र बोर्डका अध्यक्ष, अर्थ मन्त्रालयका सहसचिव, बैंकर्स संघका अध्यक्ष, लगानीकर्ताको तर्फबाट एक प्रतिनिधि रहने गरी उक्त अध्ययन समिति गठन गरेका थिए ।
पूँजी बजारमा लगानी गर्ने लगानीकर्ताहरूको संगठित संस्था धेरै भएपछि कुन संस्थाको प्रतिनिधिलाई सरकारले मान्यता दिने र कुन संस्थाको विचारलाई लगानीकर्ताको विचारको रूपमा स्वीकार गर्ने भन्ने विषयमा सरकारलाई कठिनाइ परेको थियो ।
हाल अम्बिकाप्रसाद पौडेल अध्यक्ष भएको नेपाल इन्भेष्टर फोरम, उत्तम अर्याल अध्यक्ष भएको ेयर लगानीकर्ता संघ, राधा पोखरेल अध्यक्ष भएको पूँजी बजार लगानीकर्ता संघ दर्ता भई सक्रिय छन् । साथै दर्ता नभएको तर संगठित रूपमा दबाब समूहको रूपमा काम गर्ने अन्य समूह पनि सक्रिय रहेका छन् ।
समितिमा फोरमको प्रतिनिधिलाई राख्ने सरकारको निर्णयलाई उक्त संस्थाले स्वागत गरेको छ । आम लगानीकर्ताले पूँजी बजारको विकास र विस्तारका लागि उठाएका जायज मागहरू उच्चस्तरीय समितिले सम्बोधन गर्नेमा फोरम विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ ।