निक्षेप जोगाउन भन्दै फाइनान्सहरूले पनि ब्याजदर १३ प्रतिशत पुर्याए | विकास बैंकहरू ब्याजदरका बारेमा अझै मौन

काठमाडौं । वित्त कम्पनीहरूको संगठन नेपाल वित्तीय संस्था संघले फाइनान्सहरूले भइरहेको निक्षेप जोगाउन पनि १३ प्रतिशत ब्याज दिनुपर्ने निष्कर्ष निकालेको छ । संघको हिजो सोमबार बसेको आकस्मिक बैठकले फाइनान्सहरूले मुद्दती बचतमा १३ प्रतिशतसम्म ब्याज दिएर निक्षेप संकलन गर्ने निर्णय गरेको हो । संघले वाणिज्य बैंकहरूले घोषित रूपमा १३ प्रतिशत ब्याज दिने भनिए पनि १३.५ देखि १४ प्रतिशत ब्याज दिन थालेको निष्कर्षसहित उक्त निर्णय गरेको हो ।
वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा १३ प्रतिशतसम्म ब्याज दिन थाल्दा समेत १२ प्रतिशतभन्दा बढी ब्याजदर नबढाउने सहमति गरेको नेपाल वित्तीय संस्था संघले हाल निक्षेप जोगाउन भन्दै आकस्मिक बैठक बसेर त्यस्तो गरेको हो ।
संघको निर्णयसँगै मंगलबार अधिकांश फाइनान्स कम्पनीले मुद्दती निक्षेपमा १३ प्रतिशतसम्म ब्याज दिने सार्वजनिक सूचना प्रकाशित गरेका छन् । नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले १२ प्रतिशत ब्याजदर कायम गर्ने सहमति हुँदाहुँदै पनि वाणिज्य बैंकहरू अस्वाभाविक रूपमा ब्याजदर प्रतिस्पर्धामा उत्रिएपछि आफूहरू पनि यसअघिको निर्णयमा पुनर्विचार गर्न बाध्य भएको जानकारी दिए ।
‘बैंकरर्स संघको १३ प्रतिशतसम्म ब्याज दिने निर्णयलाई हामीले तत्कालीन समस्या समाधानका लागि गरेको निर्णयका रूपमा बुझेका थियौं । तर, वाणिज्य बैंकहरू ब्याजदर प्रतिस्पर्धामा यसरी उत्रिए कि १३ प्रतिशत ब्याज दिने घोषणा गरेका बैंकहरूले खुलेआम १३.५ प्रतिशतदेखि १४ प्रतिशतसम्म ब्याज दिन थाले । यसले हामीलाई दीर्घकालसम्ममा ठूलो असर पर्ने देख्यौं, त्यसैले ब्याजदर बढाउने सहमति गर्यौ,’ उनले भने । तर आफूहरूले बैंकर्स संघले झैं जति पनि ब्याज दिन पाउने गरी सहमति नगरी १३ प्रतिशतसम्म मात्रको सीमा कायम गरेर निर्णय गरिएको उनको भनाइ थियो ।
मंगलवार गुडबिल फाइनान्स, गोर्खाज् फाइनान्स, मञ्जुश्री फाइनान्स, आईसीएफसी फाइनान्स, युुनाइटेड फाइनान्स, बेष्ट फाइनान्स, सेन्ट्रल फाइनान्सलगायतका फाइनान्स कम्पनीहरूले १३ प्रतिशत ब्याज दिने सूचना प्रकाशित गरेका छन् । विकास बैंकहरू भने अझै पर्ख र हेरको स्थितिमा रहेका छन् । उनीहरूले हालसम्म अधिकतम १२.५ प्रतिशत ब्याजदरको सीमामै रहेर कारोबार गरिरहेका छन् ।
वाणिज्य बैंकहरूमा भने कुमारी बैंक र सेञ्चुरी बैंकले १३ प्रतिशत ब्याजदर दिने सूचना प्रकाशित गरिसकेका छन् भने माछापुच्छ्रे बैंक र प्राइम बैंकले १२.५ प्रतिशत र जनता बैंकले १२ प्रतिशत ब्याज दिने बताएको छ । बैंकहरूले ब्याजदर उच्च बनाएकोमा नेपाल बैंकर्स संघको वार्षिक साधारणासभामा आक्रोशित डा. युवराज खतिवडाले सार्क क्षेत्रमा भएको अभ्यासका आधारमा ब्याजदर वृद्धिमा अंकुश लगाउने संकेत गरेका थिए । तर अहिलेसम्म राष्ट्र बैंकले त्यस्तो कुनै कदम चालेको छैन ।