कोटेश्वर–कलंकी सडक खण्डको विस्तार कार्य शनिवार सकिने | हस्तान्तरण र उद्घाटनको टुंगो भने अझै भएन
काठमाडौं । चीन सरकारको अनुदान सहयोगमा चक्रपथको कोटेश्वर–कलंकी खण्ड आठ लेनमा विस्तारको काम आगामी शनिवारसम्ममा सकिने भएको छ । तर, औपचारिक रूपमा चीनले चक्रपथ हस्तान्तरण कहिले गर्ने र नेपाल सरकारले उद्घटन कहिले गर्ने भन्नेचाहिँ टुंगो लागेको छैन ।
सडक विभागका अनुसार ५ वर्ष लगाएर विस्तार गरिएको चक्रपथमा अब म्याद थपेर काम गराउनुपर्ने अवस्था छैन । सडकको विस्तारको काम सकिँदै गर्दा यो खण्ड निकै आधुनिक स्वरूपमा देखिएको छ । २७ किलोमिटर कुल लम्बाइ रहेको चक्रपथको सडकमध्ये पहिलो चरणमा १० दशमलव ३९ किलोमिटरको कोटेश्वर–कलंकी खण्ड विस्तारको काम डिसेम्बर १५ मा सकिने निश्चित भएको सडक विभागका प्रवक्ता मुक्ति गौतमले बताए ।
उनले भने, ‘लगभग सबै काम सकिएको छ । अब केही दिनमा नै चक्रपथको काम पूरा हुन्छ । अन्तिम पटक थपिएको म्यादअनुसार डिसेम्बर १५ मा नै ठेकेदारले काम सक्छ ।’ आयोजनाले कोटेश्वर, बागडोल र ग्वार्कोमा आकाशे पुल निर्माण गरेको छ । सरकार र चीनको सांघाई कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडबीच २०७३ साल माघसम्ममा उक्त खण्डको विस्तार सक्ने सम्झौता भए पनि ३ पुस २०६९ मा भएको सम्झौताअनुसार काम सम्पन्न गर्न भूकम्प र नाकाबन्दी बाधक बने । सम्झौताबमोजिम भदौ ०७० देखि मात्र विस्तार थालिएको थियो ।
सडक विस्तारका क्रममा खसीबजार, मनोहरा र बल्खुका दुई स्थानमा गरी आठवटा पुल निर्माण गरिएको छ । चक्रपथमा हुने जामलाई कम गर्नका लागि कलंकीमा अण्डर पास बनाइएको छ । यसको फिनिसिङ पनि सकिएको छ । यो खण्ड विस्तार भएपछि चक्रपथको कलंकी–कोटेश्वर खण्डमा हुने सवारी जाम घटेको महसु गरिएको छ ।