लगानीकर्तालाई संयमता अपनाउन बोर्डले गर्यो आग्रह |
काठमाडौं । लगानीकर्ताहरू हिजो आइतवारदेखि पूँजीबजारको सुधारका लागि विभिन्न माग राखेर अनशनमा बसेपछि नेपाल धितोपत्र बोर्डले ती मागका सम्बन्धमा आफू संवेदनशील भएको बताउँदै संयमता अपनाउन आग्रह गरेको छ । बोर्डले एक विज्ञप्ति जारी गर्दै लगानीकर्ताको मागअनुसार बजारको समस्या समाधान गर्न प्रयत्नशील रहेको उल्लेख गरेको छ ।
नेपालमा राजनीतिक स्थायित्व कायम भइसकेको र सरकारले वित्तीय प्रणालीमा विभिन्न सुधारका कार्यक्रमहरू अगाडि बढाई पूँजीबजारमार्फत देशको आर्थिक समृद्धिमा जोड दिएको सो विज्ञप्तिमा उल्लेख छ ।
पछिल्लो समयमा सूचीकृत संगठित संस्थाहरू साधारणसभा गर्ने क्रममा रहेका र यसरी साधारणसभा गर्ने संस्थाहरूले लाभांशको समेत घोषणा गरिरहेको बताउँदै बोर्डले सूचिकृत कम्पनीहरू नाफामा रहेको बताएको छ ।
बोर्डले केही वर्षदेखि अन्योलको रूपमा रहेको भ्याटको समस्यालाई समाधान गरी बजारको दीर्घकालीन विकासका लागि सरकारले प्रोत्साहनमूलक नीति तथा कार्यक्रमहरू अगाडि बढाएको पनि उल्लेख गरेको छ ।
सरकार र बोर्डले धितोपत्रको प्राथमिक र दोस्रो बजार विकास तथा सुधारका विभिन्न कार्यहरू अगाडि बढाइरहेको बताउँदै सरकारले पूँजीबजार र मुद्रा बजारमा वित्तीय स्थायित्व कायम गरी औद्योगिक एवम् पूँजी बजारमा लगानीका समस्याहरू पहिल्याएर सात दिनभित्र सुझाव पेश गर्न अध्ययन समितिसमेत गठन गरेको जनाएको छ ।
सरकार र बोर्ड बजारका समस्याहरूको समाधानका लागि प्रयत्नशील रहेको र हालको अवस्थामा लगानीकर्ताहरू तथा पूँजीबजार सम्बद्ध सबै पक्षको संयमता तथा सहयोगको समेत बोर्डले अपेक्षा गरेको विज्ञप्तिमा उल्लेख छ ।