नेपाल मर्चेण्ट बैंकर्स संघको अध्यक्षमा ध्रुव तिमिल्सिना |
काठमाडौं । नेपाल मर्चेण्ट बैंकर्स संघको अध्यक्षमा ध्रुव तिमिल्सिना निर्वाचित भएका छन् । सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत समेत रहेका उनलाई शुक्रवार सम्पन्न संघको नवौं वार्षिक साधारणसभाले उक्त पदमा निर्वाचित गरेको हो ।
त्यस्तै, उपाध्यक्षमा एनआईबीएलएस क्यापिटल लिमिटेडका महाप्रबन्धक मेघबहादुर थापा, महासचिवमा सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र कोषाध्यक्षमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकाल निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै, सदस्यहरूमा कृति क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक दीपेशकुमार वैद्य, नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सविर वादे श्रेष्ठ र आरबबिी मर्चेण्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा. रमेशकुमार भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।
सो सभाबाट संघको विधान संशोधन पनि गरिएको छ । विधान संशोधनसँगै अब पूँजीबजारमा कार्यरत अन्य संघसंस्थाहरूलाई एशोसियट सदस्यको रूपमा संघमा आवद्ध हुने मार्गप्रशस्त भएको छ । त्यस्तै, पूँजीबजारको विकासमा अग्रसर हुने तथा यसलाई व्यवस्थित र मर्यादित बनाउन विभिन्न कार्यक्रमहरू गर्ने प्रतिबद्धता पनि गरिएको छ ।
साथै, सभामा संघ मर्चेन्ट बैकिङसम्बन्धी एशियाली राष्ट्रहरूको संगठन एशियन सेक्युरिटिज फोरममा आवद्ध हुन प्रक्रिया अगाडि बढाउने कार्यक्रमसमेत पारित गरिएको छ ।