पूर्वमन्त्री पाण्डेसहित २१ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा | अख्तियारद्वारा अर्बाैं रुपैयाँको बिगो दाबी
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार भएको ठहर गर्दै आयोगले मुद्दा दायर गरेको हो । आयोगले आयोजना प्रमुखदेखि निर्माण व्यवसायीसमेत रहेका पूर्वमन्त्री पाण्डेविरुद्ध मुद्दा दायर गरेको हो ।
अख्तियारका प्रवक्ता रामेश्वर दंगालका अनुसार आयोेजना प्रमुख सूर्यदेव पाण्डे, सिनियर डिभिजनल इञ्जिनीयर मीनराज ढकाल, तत्कालीन प्रमुखहरू सरोजचन्द्र पण्डित, दिलीपबहादुर कार्की र रमेश बस्नेत, सीडीई मीनराज ढकाल, सूर्यदेव थापा, यागेन्द्र मिश्र, श्यामबहादुर कार्की, सुशीलचन्द्र देवकोटा, कृष्णप्रसाद सुवेदी, प्रेमराज घिमिरे, वीरसिंह धामी, प्रकाशबहादुर कार्की, सिँचाइ विभागका सुपरिसेन्डिङ इञ्जिनीयर कमलप्रसाद रेग्मी, सीडीई रविनाथबाबु श्रेष्ठ र अशिषचन्द्र खनालविरुद्ध मुद्दा दायर गरिएको जानकारी दिए । पूर्वआयोजना प्रमुख सरोजचन्द्र पण्डितमाथि ५९ करोड, ३४ लाख, ५२ हजार ५ सय ९४ रुपैयाँ बिगो दाबी गरिएको छ ।
यस्तै, अर्का पूर्वआयोजना प्रमुख दिलीप बहादुर कार्कीमाथि १ अर्ब ५६ करोड ८२ लाख ८३ हजार १ सय ९९, अर्का पूर्वआयोेजना प्रमुख रमेश बस्नेतसँग २ अर्ब, १३ करोड, ७६ लाख , ७९ हजार, ९ सय २० बिगो दाबी गरिएको छ ।
यस्तै, पूर्वमन्त्री विक्रम पाण्डेविरुद्ध २ अर्ब १३ करोड ७६ लाख ७९ हजार ९ सय २० रुपैयाँ भ्रष्टाचार गरेको भन्दै बिगो दाबी गरिएको छ ।आयोजनाको मूलनहर भत्किएको, मूलनहरको डिजाइनमा नै त्रुटी गरेको तथा निर्माणकै क्रममा पनि आयोजनामा खटिएका प्राविधिक, कन्सल्टेण्ट, निर्माण व्यवसायीले पर्याप्त सुपरभिजन नगरेको हुँदा गुणस्तरीय काम हुन नसकेको अख्तियारको आरोप छ ।
परीक्षणका क्रममा नहर भत्किँदासमेत पुनःपरीक्षण नगरी निर्माण व्यवसायीलाई उन्मुक्ति दिएको उजुरीपछि आयोगले छानबिन थालेको अख्तियारका प्रवक्ता दंगालले बताएका छन् ।