साञ्जेन जलविद्युत्को बिक्री प्रबन्धकमा सनराइज र एनएमबी क्यापिटल | ९१ लाख २५ हजार कित्ता शेयर जारी गर्दै साञ्जेन
काठमाडौं । साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारण र आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीय बासिन्दाका लागि जारी गर्न लागेको साधारण शेयर (आईपीओ) को निष्कासनका लागि विक्री प्रबन्धकमा दुई कम्पनी नियुक्त भएका छन् । कम्पनीले विक्री प्रबन्धकमा एनएमबी क्यापिटल र सह–निष्कासनमा सनराइज क्यापिटललाई नियुक्त गर्ने सम्झौता हिजो बिहीवार गरेको छ ।
सोसम्बन्धी सम्झौतापत्रमा कम्पनीका कार्यकारी निर्देशक रमण नेपाल तथा सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र एनएमबी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका हुन् ।
कम्पनीले दोस्रो चरणअन्तर्गत सर्वसाधारणहरूका लागि ५४ लाख ७५ हजार कित्ता शेयर र आयोजना प्रभावित रसुवा जिल्लाका बासिन्दाहरूको लागि ३६ लाख ५० हजार कित्ता शेयर जारी गर्न लागेको हो ।