बैंकहरूले ब्याजदर बढाएसँगै एफएनसीसीआईद्वारा आपत्ति |

काठमाडौं । वाणिज्य बैंकहरूले ब्याजदर नबढाउने भद्र सहमतिलाई तोडेर प्रतिस्पर्धामा उत्रिएसँगै उद्योगीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आपत्ति जनाएको छ । बैंकहरूले मुद्दती निक्षेपमा १३ प्रतिशतसम्म ब्याज दिने निर्णय गरेपछि एफएनसीसीआईले हिजो बिहीवार विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो ।
बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर वृद्धिले उद्योग व्यवसाय धराशयी बन्ने र सरकारले तोकेको ८ प्रतिशत आर्थिक वृद्धि र वार्षिक ५ लाख रोजगारी वृद्धि गर्ने लक्ष्यसमेत पूरा गर्न सम्भव नहुने दाबी समेत एफएनसीसीआईले गरेको छ ।
एफएनसीसीआईले यस्तो अवस्थाले प्रतिस्पर्धात्मक क्षमता ह्रास हुन गई उद्योग व्यवसाय क्षेत्रमा नकारात्मक प्रभाव पर्ने र उद्योग क्षेत्रमा लगानी गर्न लगानीकर्तासमेत निरुत्साहित हुने भन्दै नेपाल सरकार, अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई गम्भीर हुन आग्रह गरेको छ ।