बैंकर्स संघको कार्यसमिति सदस्यमा तीन जना नयाँ अनुहार, बीके श्रेष्ठ सम्मानित |
काठमाडौं । नेपाल बैंकर्स संघको कार्यसमिति सदस्यमा तीन जना बैंकर निर्विरोध निर्वाचित भएका छन् । रिक्त तीन सदस्यमा तीन जनाको मात्रै उम्मेदवारी परेकाले साधारणसभाले उनीहरूलाई नै अनुमोदन गरेको हो ।
वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतबाट हटेलगत्तै संघको पद पनि खाली हुन्छ । सुदेश खालिङ लक्ष्मी बैंकबाट बाहिरिएपछि संघमा एक पद खाली भएको थियो । पहिलेदेखि नै रिक्त रहेको दुई पदमा अन्तरिम कार्यभार सम्हाल्ने गरी पर्शुराम कुँवर क्षत्री र रत्नराज वज्रचार्यलाई जिम्मेवारी दिइएको थियो ।
उनीहरूको ठाउँमा अरू दुई जनाको उम्मेदवारी परेको थियो । रिक्त तीनमा ग्लोबल आईएमई बैंकका जनक शर्मा पौडेल, माछापुछ्र्रे बैंकका सुमन शर्मा र सिभिल बैंकका गोविन्द गुरुङले उम्मेदवारी प्रस्तुत गरेका थिए । उनीहरूलाई साधारणसभाले अनुमोदन गरेको छ ।
पर्शुराम कुँवर र रत्नराजले उम्मेदवारी दिन चाहेनन् । पर्शुरामले नयाँलाई अवसर दिनुपर्ने बताए । त्यस्तै, रत्नराजले सनराइज बैंकमा आफ्नो कार्यकाल मे महिनामा सकिन लागेकाले छोटो अवधिका लागि संघमा नबस्ने बताए ।
संघले एभरेष्ट बैंकका अध्यक्ष बीके श्रेष्ठलाई सम्मान गरेको छ । उनलाई लामो समयदेखि बैंकिङ क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै सम्मान गरेको हो । गत वर्ष प्रथम गभर्नर हिमालय शम्शेर राणालाई सम्मान गरेको थियो ।