बैंकहरूले सर्वसाधारणको पैसा दुरुपयोग गर्न खोजिरहेका छन् : गभर्नर | तपाईंहरू ब्याजदरमा छाडा पनि नहुनु होला : अर्थमन्त्री
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले ब्याज दरको प्रतिस्पर्धामा लागेर बैंकहरूले सर्वसाधारणको पैसा दुरुपयोग गर्न खोजिरहेको आरोप लगाएका छन् । पढेलेखेका व्यक्ति बैंकिङ क्षेत्रमा भए पनि उनीहरूले नैतिकता छाड्दै गएको गभर्नर नेपालको आरोप छ । उनले जसले ब्याजदर वृद्धि गरिरहेको छ, त्यसलाई राम्रो नहुने चेतावनीसमेत दिए । डा. नेपालले हिजो बैंकर्स संघको साधारणसभालाई सम्बोधन गर्दै त्यस्तो आरोप लगाएका हुन् ।
उनले बैंकहरूले ब्याजदर वृद्धि गरेर गलत गरिरहेको बताउँदै भने, ‘तपाईंहरूले जसरी ब्याज दरमा प्रतिस्पर्धा गर्नुभएको छ, त्यो गलत गरिरहनुभएको छ, तपाईंहरूले केन्द्रीय बैंकलाई के गर्न खोजेको हो, जिस्क्याए हो कि ? हामीले सार्क राष्ट्रहरूले गर्ने जति नियमन पनि गरिरहेका छैनौं, हामी त्यो गर्छाैं, त्यो गरेका दिन आश्चर्य नमान्नु होला ।’
उनले पैसा कमाएर बस्ने ठाउँ बैंकिङ नभएको प्रष्ट पार्दै यस क्षेत्रमा व्यापारमा जस्तो स्वतन्त्रता नहुने पनि बताए । गभर्नर डा. नेपालले बैंकिङ क्षेत्रलाई नियामक निकायले सधैं हेरिरहनेसमेत बताए । १० प्रतिशत पैसा राखेर ९० प्रतिशत सर्वसाधारणको उठाएर व्यवसाय गर्ने ठाउँमा व्यक्तिगत सम्पत्तिजस्तो बैंकहरूले गर्न खोजेको आरोप उनको थियो ।
उनले भने, ‘सरकारले आर्थिक विकासका पैसा प्रयोग होस् भनेर सर्वसाधारणबाट पैसा उठाउन अनुमति दिएको हो, आफ्नो व्यक्तिगत व्यापार बढाउनलाई होइन । अहिले यस्तै गलत अभ्यास भइरहेको छ ।’
गभर्नर डा. नेपालले ब्याजदरमा फेरि सहमति गर्न संकेत गर्दै भने, ‘मैले योभन्दा बढी भन्न मिल्दैन । तपाईंहरूले कुरा बुझिसक्नुभएको छ । तपाईंहरू सिन्सियर हुनुस् ।’
अर्थमन्त्री डा. युवराज खतिवडाले भद्र सहमति गरेको र तोडेको विषयलाई बाहिर नल्याउन आग्रह गरे । प्रतिस्पर्धा गर्दा कानूनको ख्याल गर्न उनको आग्रह थियो । उनले भने, ‘तपाईंहरू ब्याज दरमा छाडा पनि नहुनु होला ।’