काठमाडौंमा पक्राउ परेका महन्थ जनकपुरमा सार्वजनिक | आरोप : जग्गा आफ्नो नाममा पार्न नक्कली जग्गाधनी दर्ता श्रेस्ता बनाएको
जनकपुरधाम । प्रहरीद्वारा हिजो बुधवार काठमाडौंबाट पक्राउ परेका रत्नसागर मन्दिरका महन्थ वैकुण्ठ दासलाई आज जनकपुरमा सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको हो ।
उनलाई गुठीको जग्गा कीर्ते जालसाजी गरेर बेचेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । उनलाई जनकपुरधामको संस्कृत विद्यालयअन्तर्गत हजारी जनक विद्यापीठको भोगचलनमा रहेको गुठी जग्गा कीर्ते जालसाजी गरी बचेको आरोप लागेको थियो ।
उनलाई जनकपुरधाम–८ स्थित गुठीको जग्गाको नक्कली जग्गाधनी दर्ता श्रेस्ता बनाई आफ्नो हो भनी बेचेको आरोपमसहित जिल्ला अदालतमा मुद्दा परेपछि उनको नाममा वारेन्ट जारी भएकाले पक्राउ गरिएको धनुषा प्रहरीले जानकारी दिएको छ ।
वारेण्ट जारी भएपछि फरार रहेका उनलाई काठमाडौंको बागबजारको होटेल तिरुपतिबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए । दुई कित्ता जग्गाको स्वामित्व आफ्नो नाममा गराउन सरकारी छाप दस्तखत कीर्ते गरेको अभियोग लागेका अशोक शर्माको बयानका आधारमा वैकुण्ठ दासलाई पक्राउ गरिएको हो । शर्मा पनि हाल प्रहरी हिरासतमा छन् ।